मंसिर २१ गते हुने दोस्रो चरणको चुनावमा काठमाडौं– ५ मा एमाले–माओवादीका संयुक्त उम्मेदवार ईश्वर पोखरेलविरुद्ध कांग्रेसले पूर्वपरराष्ट्र मन्त्री प्रकाशशरण महतलाई उभ्याउने भएको छ।
यो क्षेत्रमा यसअघि कांग्रेसका अर्का नेता नरहरि आचार्य चुनाव लड्दै आएका थिए। यसपालि काठमाडौं कांग्रेसले यो क्षेत्रबाट आचार्यको नाम प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको छैन।
दुई वर्षअघि पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मृत्यु भएपछि उनको निवास महाराजगन्ज पुगेकै बेला आचार्यलाई ब्रेन ह्यामरेज भएको थियो। त्यसपछि उनी लामो समय अस्पताल र त्यसपछि बेड रेष्टमा थिए।
आचार्यले नै केही दिनअघि पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्नो क्षेत्रमा अरु साथीहरु उठ्ने भए आफूले सहयोग गर्ने बताएका थिए।
गत संविधान सभामा समानुपातिक तर्फबाट सांसद चुनिएका महतले भने यसपालि नुवाकोटबाट प्रत्यक्षमा उम्मेदवारी मागेका थिए।
उनी निकट स्रोतका अनुसार कांग्रेस शीर्ष नेताहरुले नुवाकोटमा महतका दाइ रामशरण र अर्का नेता अर्जुननरसिंह केसी चुनाव लड्ने भएकाले प्रकाशशरणलाई काठमाडौं–५ मा चुनाव लड्न प्रस्ताव गरेका थिए। शीर्ष नेताको सो प्रस्तावमा महत राजी भइसकेका छन्। यद्यपी क्षेत्रले सिफारिस गरेको सूचीमा महतको नाम भने छैन।
यसपालि क्षेत्र नं ५ मा काँग्रेसले क्षेत्रीय सभापति रमेश खड्का, पूर्वमहासमिति सदस्य श्रीविनोद भट्टराई, नेपाल बार एशोसियशनका पूर्वअध्यक्ष एवं महासमिति सदस्य प्रेमबहादुर खड्का र महासमिति सदस्य एवं वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम उम्मेदवारको रूपमा सिफारिस गरेको छ।
एमालेले यो क्षेत्रमा महासचिव समेत रहेका पोखरेलको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ। २०५६ सालको आम निर्वाचन यो क्षेत्रबाट विजयी भएका पोखरेल दुइटै संविधान सभा निर्वाचनमा कांग्रेस नेता आचार्यसँग पराजित भएका थिए।