सोमबार दिउँसो तीन बजे कांग्रेस नेता विमलेन्द्र निधि भक्तपुरस्थित नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमा बिजुक्क्षेको निवासमा पुगे। निधिले बिजुक्क्षेलाई कांग्रेसले बनाउन लागेको लोकतान्त्रिक गठबन्धनमा सहभागी हुन आग्रह गरे।
नेमकिपा नेता प्रेम सुवालका अनुसार अध्यक्ष बिजुक्क्षेले निधिको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिए। ‘नेमकिपा सिद्धान्तमा चल्ने पार्टी हो, तपाईँहरुसँग हाम्रो सिद्धान्त मिल्दैन’ बिजुक्क्षेलाई उद्धृत गर्दै सुवालले भने, ‘एमाले र माओवादी पनि भाइ कांग्रेस हुन्। त्यसैले हामी दुबै गठबन्धनमा लाग्दैनौं।’
मंगलबार नेकपा एमालेले नेमकिपालाई आफ्नो गठबन्धनमा आउन आग्रह गरेको छ।
प्रेस चौतारी नेपाल भक्तपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमालेले नेमकिपालाई भक्तपुर जिल्लामा मात्रै भए पनि तालमेल गरेर निर्वाचनमा जान आह्वान गरेको हो।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेत र एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले यस्तो आह्वान गरे।
एमाले केन्द्रीय सदस्य मिश्रले देशलाई समृद्धितर्फ लैजान वाम गठबन्धन गरिएको बताउँदै नेमकिपा वाम पार्टी भएकाले गठबन्धनमै आउन आग्रह गरे।
एमालेका युवा नेता बस्नेतले एमालेसँग चुनावी तालमेल गर्न नेमकिपासँग एमालेले पटक पटक आग्रह गरेको भन्दै संसदीय चुनावमा पनि तालमेलमा आउन आह्वान गरे।
दुबै पार्टीले तालमेलका लागि आग्रह गरे पनि आफूहरु कुनै गठबन्धनमा सामेल नहुने सुवालले बताए।
‘हिजो निधिजीसँगको भेटमा पनि हाम्रो अध्यक्षले दुबै गठबन्धन भारतपरस्त भएकाले आफूहरुले तालमेल नगर्ने बताउनु भएको थियो। हाम्रो पार्टीको आधिकारीक धारणा पनि त्यही हो,’ सुवालले भने।
राष्ट्रिय पार्टीको मान्यता पाउन प्रतिनिधि सभामा समानुपातिकतर्फ तीन प्रतिशत भोट ल्याउने संवैधानिक प्रावधान ठूला दलले जबरजस्ती लादेको सुवालले आफूहरुलाई राष्ट्रिय दल बन्दैनौं कि पीर नभएको बताए।
‘यो उहाँहरुले लादेको हो, तर हामी यसविरुद्ध लड्छौं र एकदिन जित्छौं पनि,’ सुवालले भने।
प्रतिनिधिसभामा २ सिट रहेको भक्तपुरमा प्रदेश सभामा ४ सिट छन्। यहाँ मजदुर किसान पार्टीको राम्रो पकड छ।