निर्वाचन आयोगले आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवाको अन्तिम नामावली बुधबार सार्वजनिक गर्ने भएको छ ।
नामावली सार्वजनिक गरेसँगै आयोगले आजै उनीहरूलाई निर्वाचन चिह्नसमेत वितरण गर्ने कार्यक्रम रहेको छ।
उम्मेदवारी दिएकामाथि परेका उजुरी छानबिन गरी आयोगले मंगलबार नामावली सार्वजनिक गरेको थियो।
यसैबीच आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेलाई आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समयसमेत दिएको छ।
त्यसपछि दिउँसो ३ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरिने र साँझ ६ बजेसम्म सबै उम्मेदवारलाई निर्वाचन चिह्न दिइने आयोगले जनाएको छ ।
पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभाका लागि ७४ सिटका लागि ५ गते उम्मेदवारी दर्ता भएको थियो।
प्रतिनिधिसभाको ३७ सिटका लागि ३ सय २३ जनाको उम्मेदवारी परेको छ। प्रदेशसभाको ७४ सिटका लागि ४ सय ८४ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।