स्थानीय निर्वाचनको मनोनयन दर्ताको अघिल्लो दिन राजपा छोडेर नेपाल लोकतान्त्रिक फोरमबाट वीरगन्जको मेयर उम्मेदवार बने विमल श्रीवास्तव अब संघीय समाजवादी फोरममा प्रवेश गर्ने भएका छन्।
सेतोपाटीसँग कुरा गर्दै श्रीवास्तव शुक्रबार फोरम प्रवेश गर्न लागेको जानकारी दिए। 'सबै पार्टीसँग मेरो कुरा भयो एमालेसँग पनि छलफल अघि बढेको थियो', श्रीवास्तवले भने, 'राजनीतिमा कुनबाट सुरु हुन्छ कुनमा अन्त्य हुन्छ थाहै हुन्न।'
उनले लोकतान्त्रिक फोरम कांग्रेसमा मिसिएपछि आफूले पार्टी छोड्नु परेको बताए।
तपाईँ त हरेक चुनाव फरक पार्टीबाट लड्नुहुन्छ नि होइन? भन्ने सतोपाटीको प्रश्नमा श्रीवास्तवले भने- के गर्ने त मुलुकको अवस्थै त्यस्तो छ। कुन नेता सधैँ एकै ठाउँमा बसेको छ र?
श्रीवास्ताव चार पटक वीरगञ्जको मेयर बनेका थिए।
उनी पञ्चायतकालमा दुई पटक प्रधानपञ्च बनेका थिए भने बहुदल र राजाले गराएको चुनावमा पनि वीरगन्जको मेयर निर्वाचित भएका थिए। असोज २ को स्थानीय चुनावमा पनि लोकतान्त्रिक फोरमबाट उम्मेदवार बनेका उनी विजय सराबगीसँग पराजित भएका थिए।
उनी पहिलो संविधानसभा निर्वाचनमा राप्रपाबाट र दोश्रोमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बाट पर्सा १ मा चुनाव लडेका थिए।
उनले आउने संसदीय चुनावमा आफूले टिकट पाउने/नपाउने अहिले नै टुंगो लागिनसकेको बताए।