गुन्डा नाइके भनेर चिनिएका दीपक मनाङे केही दिनअघि एमालेबाट मनाङको प्रदेश सभा उम्मेदवारमा सिफारिस भएपछि सर्वत्र आलोचना भयो। एमाले नेताहरूले भने पार्टीले उनलाई टिकट नदिएको र पछि पनि नदिने भन्दै बचाउ गरे।
सिस्नुपानी नेपालले काठमाडौंमा गरेको देउसी भैलो कार्यक्रममा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमै भने- एमालेले कुनै गुन्डालाई टिकट दिएको छैन। आरोप लगाउनुअघि टिकट दिएको अधकट्टी ल्याएर देखाउनुस्।
कात्तिक ५ गते उम्मेदवारी दर्ता गर्ने दिन एमालेले मनाङेलाई टिकट दिएन।
मनाङ प्रदेश सभा (ख) उसले खण्डा लामालाई उम्मेदवार बनायो। मनाङेले स्वतन्त्र उम्मेदवारी दिए। स्वतन्त्र उम्मेदवारी दिएका मनाङे सोही दिन एमालेको र्यालीमा सहभागी भएका थिए।
तीन दिनपछि एमालेले आफ्नो निर्णय परिवर्तन गरेर उम्मेदवारी मात्र फिर्ता लिएन मनाङेलाई सघाउने नै भयो।
सेतोपाटीसँग कुरा गर्दै नेकपा एमालेका मनाङ अध्यक्ष पाल्तेन छोयाङ गुरुङले मनाङमा प्रदेश सभा (ख) मा स्वतन्त्र उम्मेद्वारी दिएका मनाङेलाई नै आफूहरुले भोट दिने बताए।
खण्डा आफ्नो दिदी भएकाले कुराकानीपछि आफूलाई सिट छाडिदिएको मनाङ्गेले बताए।
सम्बन्धित समाचार:एमाले जिल्ला अध्यक्ष गुरुङले दीपक मनाङ्गे र खण्डा दिदी र भाइ भएकाले भाइलाई दिदीले छाडिदिएको बताए। खण्डाले पनि पारिवरिक नाताका कारण उम्मेद्वारी त्यागेको बताइन्। ‘मैले राजनीति र परिवारमध्ये परिवार नै रोजें,’ लामाले भनिन्, ‘मैलेभन्दा भाइले काम गर्न सक्छन् भन्ने लागेर उम्मेदवारी फिर्ता लिएकी हुँ।’
खण्डाले पारिवारिक नाता भने पनि एमाले जिल्ला अध्यक्ष गुरुङले भने एमालेले घुमाउरो राजनीतिबाट मनाङेलाई उम्मेद्वार बनाएको स्वीकारे।
'एमालेले मनाङेका लागि घुमाएर राजनीतिक गर्यो भन्ने आरोप छ नि', भन्ने प्रश्नमा अध्यक्ष गुरुङले भने, 'त्यो त भन्छ। तर अब गर्छु भने गर्छु।'