चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं सम्मेलन बुधबार सकिँदा एउटा प्रश्नको उत्तर आउने धेरैको अपेक्षा थियो- सी चिनफिङपछि चीनमा उनको उत्तराधिकारी को हुनेछ?
सबैले अनुमान गरेजस्तै राष्ट्रपति सी आगामी पाँच वर्षका लागि पार्टी महासचिव र राष्ट्रपति चुनिएका छन्। तर सीको उत्तराधिकारी को हुने भन्ने विषय भने अनुत्तरीत र रहस्यमय बनेको छ।
त्यसले चीन र विश्वमै एक किसिमको तरंग ल्याएको छ। राष्ट्रपति सीले आफ्नो उत्तराधिकारी नचुनेपछि विभिन्न अडकलबाजी पनि सुरू भएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीमा एउटा अलिखित परम्परा थियो- राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु हुदाँ भविष्यमा राष्ट्रपति र प्रधानमन्त्री बन्ने दुई जना नेता पनि पार्टीको शक्तिशाली ७ सदस्यीय स्थायी समितिमा चुनिने।
ती व्यक्ति भविष्यका राष्ट्रपति र प्रधानमन्त्री हुन् भनेर अौपचारिक रूपमा पार्टीले कहिल्यै पनि भन्दैनथ्यो तर उनीहरूको उमेर समूह हेरेर मानिसहरूले प्रष्टसँग त्यो संकेत बुझ्थे।
स्थायी समितिमा चुनिने ७ जना शीर्ष नेतामध्ये दुई जना कम उमेरका हुने गर्थे। स्थायी समितिमा नियुक्त हुने प्राय:जसो चिनियाँ नेताहरू ६० वर्ष वा सोभन्दा बढी उमेरका हुने गर्छन्। तर दुई जना भने ५० देखि ५५ वर्ष समूहका र पछिल्लो पुस्ताका नेताहरु हुने गर्थे।
त्यसको खास कारण छ।
स्थायी समिति सदस्यले प्राय ६८-७० वर्ष पुग्दा अवकास पाउँछन्। ५० देखि ५५ वर्षका यी दुई जना भने अर्को १५ वर्षसम्म चीनलाई नेतृत्व गर्ने चिनियाँ कम्युनिष्ट पार्टीको शक्तिशाली स्थायी समितिमा बस्न पाउँछन्। यी दुई ‘जवान’ स्थायी समिति सदस्यमध्ये एकजना राष्ट्रपति र अर्का प्रधानमन्त्री हुने गर्छन्। यसपालि अाएका पाँचै सदस्य नयाँ हुन् तर उनीहरू सबैको उमेर भने ६० वर्षभन्दा माथि छ।
वर्तमान राष्ट्रपति सी र प्रधानमन्त्री ली खछ्यान सन् २००७ मै चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समितिमा चुनिएका थिए। त्यो बेला उनीहरू दुबै जना अन्य स्थायी समितिका सदस्यभन्दा कान्छा थिए। उनीहरूको उमेर ५५ वर्ष वरिपरि थियो। त्यही बेला सीले सन् २०१२ मा तत्कालीन राष्ट्रपति हु जिन्ताओ र खछ्यानले तत्कालीन प्रधानमन्त्री वेन जिवाओलाई विस्थापित गर्नेछन् भन्ने सबैलाई थाहा थियो।
२००७ देखि २०१२ सम्म सी र खछ्यानले स्थायी समितिमा बसेर भविष्यको नेतृत्वको लागि आफूहरूलाई तयार पार्ने र सिक्ने मौका पाए। ती पाँच वर्षमा उनीहरूले पार्टी र सरकारका महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै देशविदेश घुमे र आफ्नो सम्पर्क र स्वीकार्यता विस्तार गरे।
माओ त्सेतुङ र देङ सिआओ पिङपछि चीनमा यसरी नै भविष्यको नेतृत्व छान्ने र तयार पार्ने अलिखित परम्परा थियो।
आफू कहिल्यै राष्ट्रपति वा प्रधानमन्त्री नबनेका शक्तिशाली देङले राष्ट्रपति र प्रधानमन्त्रीका लागि अलिखित रूपमै दुई पटकको कार्यकाल पनि तोकिदिएका थिए।
त्यही अलिखित परम्परा पछ्याउँदै सन् १९९२मा राष्ट्रपति बनेका जियाङ जमिन सन् २००२ मा सत्ताबाट उत्रिए। सन् २००२ मा राष्ट्रपति बनेका हु जिन्ताओले सन् २०१२ मा सत्ता छाडे र सी राष्ट्रपति बने।
आफ्नो उत्तराधिकारी सम्हाल्ने गरी पछिल्लो पुस्ताका कुनै पनि नेतालाई राष्ट्रपति सीले स्थायी कमिटीमा नचुनेपछि उनले के चाहेका छन् भन्ने व्यापक अडकलबाजी चलेको छ।
कतिपयले राष्ट्रपति सीले आफू तेस्रो कार्यकालका लागि पनि राष्ट्रपति बन्ने चाहेको अडकल गरेका छन्।
सी चीनमा माओ त्सेतुङपछि सबैभन्दा शक्तिशाली नेता बनेको टिप्पणी अन्तरराष्ट्रिय सञ्चारमाध्यममा हुन थालेको छ।
बुधबार सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९औं कंग्रेसले राष्ट्रपति सीको विचारलाई पार्टी विधानमै 'सी चिनफिङ विचारधारा’ भनेर उल्लेख गर्ने निर्णय गरेको छ। सीलाई यसअघि नै पार्टीको 'कोर लिडर’ मान्ने निर्णय भैसकेको छ।
'माओ विचारधारा’ पछि चीनमा कुनै पनि नेताको विचारलाई पार्टी विधानमा राखिएको थिएन।
पछिल्लो दश वर्षमा अन्तराष्ट्रिय मञ्चमा चीनको अभुतपूर्व उदय भएको छ। विश्वको दोस्रो ठूलो आर्थिक शक्ति चीनले सामरिक क्षेत्रमा पनि ठूलो फड्को मारेको छ।
यो पनि पढ्नुहोस्:
यी हुन् चीनको नेतृत्व गर्ने सात शीर्ष नेतासन् १८२० सम्म संसारको सबैभन्दा ठूलो आर्थिक शक्ति रहेको चीनको यस्तो समयमा पुनर्दोय भइरहेको छ, जतिबेला विश्व महाशक्ति 'अमेरीकाको युग' को अन्त्य हुने क्रममा छ। अमेरीकामा डोनाल्ड ट्रम्पको उदयसँगै अमेरिका खुल्ला विश्व व्यापार, जलवायु परिवर्तनजस्ता मुद्दाबाट जसरीपछि हटेको छ, त्यसको नेतृत्व लिने अवसर चीनलाई प्राप्त छ।
विश्वमञ्चमा चीनका लागि आउँदै गरेको यो अवसरको सदुपयोग गर्न राष्ट्रपति सी चीनमा आफ्नो नेतृत्व र भूमिका लम्ब्याउन चाहन्छन् भन्ने अनुमान कतिले गरेका छन्।
प्रत्येक पाँच वर्षमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलनले आगामी पार्टी नेतृत्व छान्ने गर्छ। सबैभन्दा पहिले देशभरबाट आएका २३०० सय प्रतिनिधिले पार्टीका २०० जना केन्द्रीय सदस्य चुन्छन्। ती दुई सय जनाले २४ सदस्यीय पोलिटब्युरो र पोलिटब्युरोले सात सदस्यीय स्थायी समिति छान्छ।
सिद्धान्त: सम्मेलनले पार्टी नेतृत्व चुन्ने भए पनि पार्टी महासचिव तथा राष्ट्रपतिले नै स्थायी समितिमा क-कसलाई ल्याउने र भविष्यमा पार्टी नेतृत्व कसलाई हस्तान्तरण गर्ने भन्ने तय गर्छन्।
राष्टपति सीले आफ्नो कार्यकाल लम्ब्याउन खोजेको आंशका भइरहेका बेला कतिपयले उनले आफ्नो पाँच वर्षे दोस्रो कार्यकाल सकिनुअघि नै आफ्नो उत्तराधिकारी छान्ने अडकल पनि गरेका छन्।
भविष्यमा बन्ने राष्ट्रपतिलाई यसैपालि स्थायी समितिमा सदस्य बनाएको भए दुइटा शक्ति केन्द्र स्थापित हुने र त्यसलाई दोस्रो कार्यकालमा आफूलाई कमजोर बनाउने आँकलन गरेर राष्ट्रपति सीले नयाँ पुस्ताका नेतालाई स्थायी सदस्यमा अहिले नै नल्याएको कतिपयको तर्क छ।
राष्ट्रपति सीको भित्री नियत जे होस्, अहिले नै आफ्नो उत्तराधिकारी नचुनेर उनले चीन र चीनलाई नजिकबाट हेरिरहेको विश्वलाई तरगिंत बनाएका छन्।