दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा सिट बाँडफाँडको विषयबारे छलफल गर्न लोकतान्त्रिक गठबन्धनका नेताहरूको बैठक बसिरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकमा विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाल, बुद्धिमान तामाङ, रामसाय यादव लगायतका नेताहरु सहभागी छन्।
नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएर चुनावी तालमेल गरेपछि कांग्रेसले पनि केही दलहरुसँग चुनावी तालमेलका लागि छलफल गरिरहेको छ।
पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा कांग्रेसले संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र नयाँशक्तिसँग चुनावी तालमेल गरेर उम्मेदवारी दिएको छ।
दोस्रो चरणमा मधेसकेन्द्रीत दल राजपासँग पनि चुनावी तालमेलका लागि कांग्रेसले छलफल गरिहेको छ।
दोस्रो चरणमा मंसिर २१ गते हुने चुनावका लागि कात्तिक १६ गते मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ।