भक्तपुर इन्टरनेसनल अस्पतालको गम्भीर लापरबाहीका कारण दुई जना कोरोना संक्रमितको मृत्यु भएको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले कारबाही गर्ने भएको छ।
मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित अस्पताललाई कारबाही गर्ने तयारी गरेको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए।
उनका अनुसार अस्पताललाई आइतबार स्पष्टीकरणको सोध्ने र सोहीअनुसार कारबाही गर्ने तयारी भइरहेको छ।
शुक्रबार पीडित र अस्पताल व्यवस्थापन पक्षबीच छलफल भएको हुँदा कारबाही प्रक्रिया अघि बढाउन नसकिएको सहायक प्रजिअ केशरीले बताए।
'आज अस्पतालमा भएको घटना बारेमा पीडित र अस्पतालको व्यवस्थापनबीच छलफल भयो। आइतबार हामी अस्पताललाई स्पष्टीकरण सोध्नेलगायतका कारबाही अघि बढाउँछौं,' उनले भने।
पन्ध्र शय्याको स्वीकृति पाएको सो अस्पतालले क्षमताभन्दा दोब्बर बिरामी भर्ना लिएको र समयमा अक्सिजनको व्यवस्था गर्न नसक्दा बिहीबार राति अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको थियो।
मृत्यु हुनेमा भक्तपुर कमलविनायकका ४५ वर्षीय र पोखरा स्थायी घर भएका ६० वर्षीय गरी दुई पुरुष छन्। कमलविनायकका पुरुषको सोही अस्पतालमा र पोखराका पुरुषको ललितपुरस्थित अल्का अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो।
स्रोतका अनुसार सो अस्पतालमा बिहीबार साँझ २८ कोरोना संक्रमित भर्ना गरिएको थियो। अस्पतालमा दिउँसोदेखि नै अक्सिजनको अभाव भएको र राति एक संक्रमितको अक्सिजन नभएकै कारण मृत्यु भएपछि अस्पतालले धमाधम बिरामीलाई अन्त लैजान आफन्तलाई दबाब दिएको थियो।
सोही क्रममा एक संक्रमितको अल्का अस्पताल ललितपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
अस्पतालको चरम लापरबाहीका कारण बिरामीको मृत्यु भएपछि पीडित आफन्तले राति नै अस्पतालमा नाराबाजी गरेका थिए। सो क्रममा झडपको स्थिति आएको थियो। अ
स्पतालले बिरामीलाई अन्यत्र रिफर गरेको कागजसमेत नदिई बिरामीका आफन्तलाई जहाँ सकिन्छ त्यहीँ लैजानु भन्दै १४ बिरामीलाई बाहिर निकालेर अलपत्र पारेको आफन्तको आरोप छ। पीडित परिवारले अस्पतालको चरम लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै उचित क्षतिपूर्ति र अस्पताललाई कारबाहीको माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय पुगेको थियो।
सो अनुसार चारलाई भक्तपुर अस्पताल तथा दुईलाई समिट अस्पताल लगिएको बताइएको छ।
यसैबीच उक्त अस्पतालमा उपचारका क्रममा मृत्यु भएका दुई कोरोना संक्रमितको परिवारलाई अस्पतालले क्षतिपूर्ति दिने भएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको पीडित र अस्पताल व्यवस्थापनबीचको छलफलमा पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको सहायक प्रजिअ केशरीले जानकारी दिए।
के कस्तो क्षतिपूर्ति दिने भन्नेबारेमा थप छलफल हुने उनले बताए।
त्यस्तै, अस्पताल व्यवस्थापन पक्षले अस्पतालको व्यवस्थापनमा कमी कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गरेर अघि बढ्ने प्रतिबद्धता बैठकमा गरेको सहायक प्रजिअ केशरीले बताए।