तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन्।
ऋषिङ ८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरामा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार आज बिहान ५:३० बजे घरबाट गोठमा गएका उनलाई माथिबाट पहिरा खस्दा पुरेको हो। बेपत्ताको स्थानीयले खोजी कार्य गरिरहेका छन्।
डुम्रे–बन्दीपुर सडकखण्ड पुनः अवरुद्ध
पहिरो हटाएर सञ्चालनमा आएको डुम्रे–बन्दीपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ।
बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुर सडकखण्ड अवरुद्ध भएको बताए।
गत मङ्गलबार पहिराले अवरुद्ध भएको उक्त सडकखण्ड चार दिनपछि आंशिक सञ्चालनमा आएको थियो।