डोटीका विभिन्न स्थानीय तहमा अहिलेसम्म विद्युत सेवा विस्तार हुन सकेको छैन।
विद्युत नभएका कारण यहाँका तीन स्थानीय तहका विभिन्न वडा वर्षौंदेखि अन्धकार भएका छन्।
जिल्लाका कुल नौवटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहका विभिन्न वडामा हाल सम्म पनि विद्युत विस्तार भएको छैन। विद्युत् विस्तार मात्रै होइन पोल समेत गाडिएका छैनन्।
विद्युत नहुँदा यहाँका विभिन्न वडामा कामकाजमा समस्या हुने गरेको बताइएको छ।
जिल्लाको बोगटान फुड्सिल, बडीकेदार तथा जोरायल गाउँपालिकाका अधिकांश वडामा अहिलेसम्म पनि बिजुली विस्तार हुन नसक्दा कामकाजमा समस्या हुने गरेको कर्मचारी बताउँछन्।
जोरायल गाउँपालिका-५ गड्सेरामा स्थानीय जलविद्युत् भए पनि सबै गाउँमा विद्युत नपुगेको तथा दिउँसो ११ बजेबाट साँझ ५ बजेसम्म विद्युत लाइन कटौती गरिने भएका कारण कार्यालयको कामकाज तथा अन्य काम गर्नमा निकै समस्या उत्पन्न हुने गरेको वडाध्यक्ष ध्वजबहादुर देउवाले बताए।
उनले भने, 'स्थानीय गड्सेरीगाढ खोलाबाट विद्युत् त निकालेका छौं, तर उक्त विद्युत दिउँसो कार्यालय समयमा काटिने भएका कारण समस्या हुने गरेको छ, राति बत्ती आएपछि मात्रै कार्यालयको काम गर्नुपर्ने हुन्छ।'
विद्युतले पावर धान्न नसक्ने भएका कारण दिउँसोको समयमा विद्युतलाइन कटौती गरी राति केही गाउँमा विद्युत वितरण गरिँदै आएको गड्सेरीगाढ लघुजलविद्युत आयोजनाका अध्यक्ष लीलाधर विष्टले बताए।
उनले भने, 'विद्युतको उत्पादन क्षमता कमी छ, सबै गाउँमा विद्युत वितरण गर्न सकिएको छैन, त्यसैले दिउँसो बत्ती काट्ने गरेका हौं, राष्ट्रिय प्रसारण लाइन विस्तार भएको छैन।'
त्यस्तै, जिल्लाको बडिकेदार गाउँपालिकामा भने अहिलेसम्म विद्युत विस्तार भएको छैन।
विद्युत नहुँदा स्थानीयबासी राति सल्लाको झुरो तथा केहीले सोलार बत्ती प्रयोग गर्न थालेको बडीकेदार-५ कोला गाउँका स्थानीय टेकबहादुर कलेलले बताए।
उता बोटगटान फुड्सिल गाउँपालिकाको टुडागाढमा स्थानीय टुडागाढ विद्युत पावरहाउस भए पनि सबै वडामा विद्युत विस्तार गर्न नसकिएको सो गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बताए।
उनले भने, 'टुडागाढ खोलाको विद्युत सबै वडामा पुर्याउन सकिएको छैन, विद्युत नहुँदा सारै समस्या हुने गरेको छ।'
त्यस्तै, राष्ट्रिय विद्युत प्रसारण लाइनको पहुँच नहुँदा बडीकेदार गाउँपालिकाले सोलारको भरमा गाउँपालिकाको काम गरिरहेको सो गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए।
उनले भने, 'हामीसँग राष्ट्रिय विद्युत प्रसारण लाइन पनि छैन, स्थानीय विद्युत पनि उत्पादन गरिए पनि वितरण भएको छैन, सोलारकै भरमा सबै काम चलाउनुपर्ने बाध्यता छ।'
जिल्लाका यी गाउँपालिकाका विभिन्न वडामा जडान गरिएका नेपाल टेलिकमका टावरसमेत सोलारकै भरमा चलिरहेका छन्।
सोलार बत्तीकै भरमा टेलिकम टावर सञ्चालन हुँदा रातिको समयमा उक्त टावरले खासै काम नगर्ने गरेको स्थानीयबासीको गुनासो छ।
त्यहाँका गाउँपालिकामा जडान गरिएका नेपाल टेलिकमका टावर घाम नलागेको अर्थात् पानी र कुहिरो लागेको दिन पूर्णरूपमा बन्द हुने गरेको जोरायल गाउँपालिका-६ निरौलीका स्थानीयबासी लालबहादुर विकले बताए।
उनले भने,'विद्युत नहुँदा हामी सञ्चार सम्पर्कबाट पनि बिच्छेद हुने गरेका छौं, राति नेटवर्क आउँदैन, केही समस्या भए फोन सम्पर्क गर्न पनि गाह्रो हुन्छ।'