चितवनका भित्री सडकमा सवारी दुर्घटनाको जोखिम बढी हुने गरेको छ।
पछिल्ला केही वर्षको तथ्यांक हेर्ने हो भने मुख्य राजमार्गभन्दा भित्री सडक बढी जोखिम हुने गरेको पाइन्छ।
चालु आर्थिक वर्ष २०७८/७९ को मंसिरसम्म सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको छ।
२५ जनाको भित्री सडकमा भएको सवारी दुर्घटनामा ज्यान गएको हो।
यही अवधिमा जिल्लाभर २२४ वटा सवारी दुर्घटना भएका छन्। यीमध्ये भित्री सडकमा मात्रै १०२ वटा सवारी दुर्घटना भएका छन्।
यही अवधिमा जिल्लाभर सवारी दुर्घटनामा ३८३ घाइते भएका छन्।
उनीहरूमध्ये १६८ जना भित्री सडकमा भएको सवारी दुर्घटनामा घाइते भएका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको यस तथ्यांकले भित्री सडकमा दुर्घटनाको अवस्था जोखिमपूर्ण रहेको देखिन्छ।
भित्री सडकबाहेक पूर्व-पश्चिम लोकमार्गमा चालु आर्थिक वर्षको पाँच महिनामा सवारी दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने ९० घाइते भएका छन्।
यो अवधिमा उक्त सडकखण्डमा ४९ वटा सवारी दुर्घटना भएका थिए।
यही अवधिमा नारायणगढ–मुग्लिन सडकमा ४१ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ८३ जना घाइते भएका छन्।
पृथ्वी राजमार्गमा १२ सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
सहरी सडकखण्डमा २० वटा सवारी दुर्घटना भएका छन्। जसमा तीन जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। आव २०७३/७४ मा भित्री सडक दुर्घटनामा ३० जनाको मृत्यु तथा २५८ घाइते, २०७४/७५ मा ४३ जनाको मृत्यु तथा २७१ जना घाइते भएका थिए। २०७५/७६ मा ४२ जनाको मृत्यु तथा २९५ जना घाइते र २०७६/७७ मा २९ जनाको मृत्यु तथा २६१ जना घाइते भएका थिए।
भित्री सडकमा लापरवाही तरिकाले सवारीसाधन चलाउने गर्दा दुर्घटना बढी हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले बताए।
भित्री सडकमा ट्राफिक प्रहरीको पहुँच कम हुने र यही कारण लापरबाही तरिकाले सवारी साधन चलाउँदा दुर्घटना निम्तिने उनको भनाइ छ।
ट्राफिक प्रहरीको उपस्थिति कम हुने भएकाले भित्री सडकमा मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढी हुने गरेको उनले बताए। भित्री सडक साँघुरा र बिग्रिएका कारण पनि ती सडकमा दुर्घटना बढी भएको कार्यालयले जनाएको छ। सडकमा खाल्डाखुल्डी, छरपस्ट राखिने निर्माण सामग्रीले दुर्घटना बढाउने गरेको थापाले बताए।