भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना पुष्टि भएको छ।
उनले मंगलबार एक ट्वीट गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।
आम आदमी पार्टी (आप) प्रमुखसमेत रहेका उनी घरमै आइसोलेशनमा बसेका छन्। उनले पछिल्ला केही दिनमा आफूसँग सम्पर्कमा रहेकाहरुलाई आइसोलेट गर्न र कोरोनाको परीक्षण गराउनसमेत आग्रह गरेका छन्।
‘मैले कोभिडको परीक्षण गरेको छु र कोभिड देखिएको छ। अहिले घरमै आइसोलेसनमा बसिरहेको छु पछिल्ला केही दिनमा जो मसँग सम्पर्कमा आएका छन्, कृपया आफूलाई अलग गर्नुहोस् र आफ्नो परीक्षण गराउनुहोस्,‘ केजरीवालले ट्वीट गरेका छन्।
नयाँ दिल्लीमा कोरोना संक्रमण दर ६.४६ प्रतिशत पुगेको छ। पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ४ हजार ९९ नयाँ संक्रमित फेला परेका छन्। यो स्वास्थ्य विभागको तथ्याङ्क अनुसार दिल्लीमा पछिल्लो २४ घन्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
भारतमा पछिल्लो २४ घन्टामा ३५ हजार ८८६ जनामा कोरोना संक्रमण देखिएको छ।