दाङ घोराही-९ का खुसीराम चौधरी यतिखेर निकै व्यस्त छन्। नजिकिँदो माघी पर्वका लागि आवश्यक दाउरा संकलन र दुनाटपरी बनाउने पात टिप्न उनी दैनिक जङ्गल धाउन थालेका छन्।
‘तीन दिन भयो, जङ्गलबाट दाउरा काटेर ल्याएँ। अब पात टिप्न थालेको छु। दुनाटपरी लगाउनुछ’, उनले भने, ‘माघीमा पाहुना धेरै आउँछन्, माघीमा चाहिने मासु र अन्नको पनि जोहो गर्नुछ। अब फुर्सद हुन्न।’
घोराहीका भुवन चौधरीले पनि माघीमा आवश्यक बङ्गुर, बाख्रा, दाउरा, माघीमा पकाइने परिकारका लागि चामल, पिठोको जोहो गर्नमा व्यस्त छन्।
‘माघी हाम्रो प्रमुख पर्व हो। हाम्रा लागि यो नयाँ वर्षको सुरूआत हो। यस समयमा हामी खानपान, रमाइलो मात्र होइन, वर्षभरि गर्ने कामको योजना बनाउने काम गर्छौं’, उनले भने, ‘यससँगै हामी माघीमा खानपान र रमाइलो गर्ने गर्दछौं। यो समयमा थारु संस्कृति झल्कने नाचगान गर्ने गरिन्छ।’
माघी थारु समुदायको सबभन्दा ठूलो पर्व रहेकाले पर्व मनाउन लागि एक साता अघिदेखि नै तयारी सुरू गरिएको छ।
माघीका लागि आवश्यक पर्ने जिता खोज्ने, खाने मानिसको सूची बनाउनेलगायतका तयारी भइरहेको घोराही माघी महोत्सव आयोजक समितिका संयोजकसमेत रहेका चौधरीले बताए।
दाङका थारु बस्तीमा अहिले माघी पर्वको रौनक छाएको छ। माघे सङ्क्रान्ति नजिकिएसँगै दाङका थारु बस्तीमा चहलपहल बढेको हो।
यो पर्वका अवसरमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ। माघी नजिकिएकाले थारु बस्तीमा अहिले दाउरा सङ्कलन, पात टिपेर दुनाटपरी बनाउने, कुटानी पिसानीलगायतका कार्य धमाधम भइरहेका छन्।
यतिखेर गाउँ/गाउँमा रातभर आगो बाल्ने चलन अनुसार दाउरा सङ्कलन, धान, चामल कूटानपिसान, जाँड बनाउने र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारु समुदायका महिला व्यस्त छन्।
माछा मार्ने, ढिर्की, रोटी पकाउने, अनदीको विशेष झोल, (जाँड) अनदीको रोटी, भातलगायत विशेष मीठा-मीठा परिकारको जोहो माघमा गर्ने चलन छ।
‘यतिखेर थारु बस्तीका सबै व्यस्त छन्, सबैको घरमा माघीको तयारी सुरू भएको छ’, संयोजक चौधरीले भने, ‘माघी पर्वले थारु बस्तीमा रौनक ल्याउँछ। नयाँ जोश र उमंगका साथ मनाइने यो पर्वमा व्यस्तता हुनु सामान्य हो।’
माघीको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गर्दछन्।
गाउँभरि मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी या खोलामा नुहाउने गर्दछन्। नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगगरी घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारु समुदायमा छ।
खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ। यो खिचडी पूर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइएको हुन्छ। छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर (कोसेली) का रूपमा चेलीबेटीका घरमा पुर्याउने प्रचलन रहेको मतहवा संघका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए।
माघको अघिल्लो दिन बिहानै गाउँघरका किसान जम्मा भई बङ्गुर (थारु भाषामा जिता मार्ना) मारेर बराबर बाँड्ने चलन छ।
माछासँगै गङ्गटा र घोङ्गीको विशेष परिकार बनाएर खाने गरिन्छ, माघीको अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ।
यो नाच शृृंगार र करुण रसले भरिएको हुन्छ। यसमा बजाइने मादलको ताल, धुन र गाउने व्यक्तिको स्वर पनि विशेष र फरक प्रकारको हुने संस्कृतिविद् अशोक थारुले बताए।
थारु समुदायमा ‘माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ।
पुस मसान्तमा आ-आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने र नयाँ मतहवा चुन्ने चलन छ।
यसै उपलक्ष्यमा दाङमा थारु कल्याणकारिणी सभाले माघी महोत्सव मनाउने भएको छ।
मूल आयोजक समिति गठन गरेर महत्सवको तयारी गरेको थारु कल्याणकारिणी सभा दाङले जानकारी दिएको छ।
यही पुस २७ र २८ गते घोराहीमा माघ महोत्सव सञ्चालन गर्न लागेको मेला आयोजक समितिका संयोजक भुवन चौधरीले जानकारी दिए।
सांस्कृतिक, आर्थिक, अतिथि सत्कार, प्रचारप्रसार, मञ्च व्यवस्थापन, यातायात, स्वास्थ्य, स्वंयसेवक परिचालन, र्याली व्यवस्थापन र सम्पर्क समन्वय उपसमिति गठन गरिएको मूल आयोजक समितिका संयोजक चौधरीले जानकारी दिए।