कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ चित्रपुरमा रहेको बालविकास केन्द्रका बालबालिका चिसो भुइँमा बसेर बढ्न बाध्य भएका छन्।
वनहरा नदीको बगरमा वर्षौं पहिले बनाइएको टहरामा सञ्चालित बालविकास केन्द्रमा अध्ययनरत बालबालिका फर्निचरको अभावमा चिसो भुइँमा बसेर पढ्न बाध्य भएका हुन्।
दुर्गम विपन्न बस्तीका बासिन्दाले विद्यालय टाढा हुँदा बालबालिकालाई पढाउनका लागि गाउँ नजिकैको नदीको बगरमा विसं २०४८ देखि बालविकास केन्द्र सञ्चालन गर्दै आएका छन्।
‘बालविकास केन्द्र सञ्चालन हुँदै आएको टहराको भुइँमा बालुवा छ, चिसो बालुवामै बसेर बालबालिका पढ्दै आएका छन्’, स्थानीयबासी जनक कार्कीले भने, ‘अभिभावकको आर्थिक अवस्था निकै दयनीय छ, गाउँका अधिकांश परिवारले मजदुरी गरी जीविका चलाउँदै आएका छन्, मजदुरी नगरे चुलोमा आगो बल्दैन, घर चलाउनै मुस्किल भएका बेला विद्यालयलाई सहयोग गरी फर्निचरको व्यवस्था गर्न सकिएको छैन।’
गर्मीका बेला बालुवा तात्ने भएकाले बालबालिका टहरामा बस्न नसक्ने बालविकास शिक्षिका सुमिता रानाले बताइन्।
उनले भने, ‘थोरै हावा चलेपछि बालुवा उडन थाल्छ, बालबालिका बिरामी पर्ने गरेका छन्, हिउँदका बेला भुइँको बालुवा निकै चिसो हुँदा बालबालिकालाई बस्न निकै अप्ठ्यारो हुने गरेको छ।’
घाम लागेका बेला चौरमा राखेर पढाउने गरे पनि अरू बेला कक्षा सञ्चालन गर्न निकै अप्ठ्यारो रहेको उनले बताए।
टहराको माथि राखिएका वर्षौं पुराना जस्तापातामा खिया लागेर ठाउँ-ठाउँमा प्वाल पर्दा चुहिने गरेकाले थोरै बर्सातमा पनि कक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले जानकारी दिए।
‘वडा कार्यालयमार्फत नगरपालिकालाई बालबालिका बस्नका लागि कारर्पेट, गुन्द्रीको व्यवस्था गरिदिनका लागि माग राख्दै आएका छौं’, उनले भने, ‘सुनुवाइनै हुन सकेको छैन, अश्वास दिन्छन्, त्यसपछि कोही फर्केर आउँदैनन्।’
बालविकास केन्द्रमा खेल सामग्रीको समेत अभाव रहेको उनको भनाइ छ।
बालविकास केन्द्रमा कृष्णपुर नगरपालिका–३ र शुक्लाफाँटा नगरपालिका–१२ का पाँच वर्षमुनिका ३५ बढी बालबालिका पढ्दै आएका छन्।
यस क्षेत्रमा पहिला आधारभूत तहको विद्यालय नै सञ्चालमा रहेको थियो। बाढीजन्य प्रकोपका कारण विद्यालय विस्थापनमा परेपछि स्थानीय बासिन्दाले बालविकास शिक्षकको व्यवस्था गरी बालविकास केन्द्र सञ्चालन गर्दै आएका छन्।