कञ्चनपुरमा कोरोनाविरूद्धको पूर्ण खोपको मात्रा लगाउनेका संख्या एक लाख ९७ हजार २३३ पुगेको छ।
स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कुँवरका अनुसार कोभिड सिल्ड र स्ट्राजेनेकाको पूर्ण मात्रा लगाउनेको संख्या ३४ हजार ३६२, भेरोसेलको पूर्ण मात्रा लगाउनेको संख्या एक लाख ३२ हजार ३९ रहेको छ। जोन्सन एन्ड जोन्सन खोप लगाउनेको संख्या २७ हजार ४०० छ।
कोभिडसिल्ड र स्ट्राजेनेकाको पहिलो मात्रा ५१ हजार १०३ जनाले लगाएका छन्।
यसैगरी, भेरोसेलको पहिलो मात्रा खोप एक लाख ८४ हजार ८९८ जनाले लगाएका छन्। १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई ६३ हजार ७३७ मोर्डना खोपको पहिलो मात्रा दिइएको छ।
खोपको पहिलो मात्रा लगाउनेको संख्या ८६ दशमलव ६० र दोस्रो मात्रा खोप लगाउनेको संख्या ६५ प्रतिशत छ।
बिहीबार मात्रै १५ हजार २०० जनालाई कोरोनाविरूद्धको भेरोसेल खोप लगाइएको छ।
‘माघ महिनादेखि नियमित रूपमा अन्य खोपजस्तै कोरोनाविरूद्धको खोप लगाउने तयारी भइरहेको छ’, अधिकृत कुवँरले भने, ‘बिदाको दिनबाहेक हप्ताको छवटै दिन पालिकामार्फत् खोप लगाउनका लागि योजना बनाउँदैछौं।’
कोरोनाविरूद्धको खोप लगाउनबाट कोही नछुटून् भन्ने उद्देश्य लिएर कार्य अगाडि बढाइँदै आएको उनले बताए।
‘तत्कालै एक लाख भेरोसेल खोप लगाउनका लागि कार्य अगाडि बढाइसकिएका छौं,’ उनले भने,‘अपुग भएको खोप आवश्यकताअनुसार कैलालीको धनगढीस्थित आपूर्ति केन्द्रबाट ल्याउने व्यवस्था गरिएको छ।’
भारतबाट नेपाल भित्रिने नेपालीलाई सीमा नाका गड्डाचौकीमै समेत कोरोनाविरूद्धको पहिलो मात्रा लगाउने व्यवस्था गरिएको छ। दोस्रो मात्रा सम्बन्धित पालिकामा गएर लगाउने व्यवस्था गरिएको छ।