लमजुङ र छिमेकी जिल्ला तनहुँ जोड्ने डुम्रे-बेंसीशहर सडक दुई लेनको बनाउन थालिएको छ।
छिमेकी जिल्ला तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण गर्न लागिएको उक्त सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको डुम्रे–बेंसीशहर-चामे सडक आयोजनाका इञ्जिनियर पुरूषोत्तम अधिकारीले बताए।
उनले भने, ‘डुम्रे बजारबाट २२० मिटरदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाउन थालिएको हो। राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुने भएको छ।’
इञ्जिनियर अधिकारीका अनुसार १०/१० मिटर जमिनको लगतकट्टा भइसकेको छ भने अधिग्रहण गरिएमध्ये चौडाइ ११ मिटरमा सडकको संरचना बन्ने भएको छ।
यसअघि तीन दशमलव ७५ मिटरको क्यारिज वे (भारवाहन सडक) रहेकामा अब सात मिटरको हुने उक्त आयोजनाले जनाएको छ।
दायाँ-बायाँ एक/एक मिटरको ‘सोल्जर’ तथा एक/एक मिटरको नाली निर्माण गरिने भएको छ।
अहिले सडकको नाली बनाउने, चौडाइ पुर्याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउने लगायत निर्माण कार्य भइरहेको छ।
आयोजनाका अनुसार सडकमा ‘अस्फाल्ट’ किसिमको कालोपत्र हुनेछ भने, कालोपत्र सकिएपछि सडक रङ्गरोगन गर्ने र किलोमिटर पोस्ट राखिने भएको छ।
हालसम्म १५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाइएको छ। आठ दशमलव आठ किलोमिटर सडक विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले गत वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो।
डुम्रे बेंसीसहर सडक ४२ किलोमिटर रहेको छ। यस सडकको तनहुँ डुम्रेदेखि लमजुङकोे सीमाना पाउदी बजारसम्म २४ किलोमिटर छ।
सडकका लागि भ्याट र पिएस बाहेक ७५ करोड ९४ लाख ९७ हजार रुपैयाँ लागत अनुमान गरिएकामा उक्त जेभीले ३८ करोड नौ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। पहिलो चरणको निर्माण सकिएलगत्तै सडकको अन्य कामसमेत अघि बढाइने बताइएको छ।
छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट वि.सं २०२९ मा खन्न सुरू गरिएको उक्त सडक बेंसीसहरसम्मको ४२ किलोमिटरसम्म पुर्याउन झण्डै १५ वर्ष लागेको थियो।
वि.सं २०४६ मा ट्याक खुलेसँगै विसंं २०५२ देखि सिङ्गल लेनको कालोपत्र थालिएको थियो। सुरू गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडक कालोपत्र गरिएको थियो।
कालोपत्रे भए पछि समय समयमा मर्मतसम्भार हुन नसक्दा सडक जीर्ण बन्दै गएको स्थानीयबासीको भनाइ थियो।
उक्त सडकमा दैनिक सयौं सङ्ख्यामा साना तथा ठूला सवारी साधन सञ्चालन हुन्छ।
डुम्रे बेंसीसहरको उक्त सडक हुँदै हिमाली जिल्ला मनाङका बासिन्दासमेत आवतजावत गर्दै आएका छन्।
यी सडक दुई लेन भई कालोपत्र भए तीनै जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएका छन्।