जिल्ला प्रहरी कार्यालय भोजपुरले खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको हो।
सदरमुकाम नजिकैको दुम्सिकास्थित को१ख ६२३२ र ना६ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनकुमार अधिकारीले बताए।
उनीहरूका साथबाट करिब दुई ग्राम एक मिलीग्राम ब्राउन सुगर र रु ८३ हजार ६०० नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
ट्रक चालक धनकुटा नगरपालिका घर भई मोरङ केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र संखुवासभाको धर्मदेवी नगरपालिका–५ बस्ने ३७ वर्षीय दलबहादुर मगर पक्राउ परेका हुन्।
नियन्त्रणमा लिइएका दुवै ट्रक भोजपुरबाट धरान जाँदै गरेका थिए।