'घट्दै छन्, रूख छैन आश्रय तथा पाइन्न खाने फल
छैनन् जंगल बस्नलायक घटे तिम्रा सुरक्षास्थल
घट्दै सन्तति लोपउन्मुख हुने पीडा छ छातीभरि
चारो खोज्न अनेक जोखिम बढे बाँच्छ्यौ चरी के गरी।'
(वासुदेव पाण्डेय, बाँच्छ्यौ चरी के गरी)
तालैतालको बगैंचा सहर लेखनाथका खास्टे, दिपाङ र न्युरेनीमा विगतमा जस्तो जलचरा अहिले देख्न पाइन्न। विश्व सम्पदा सूचीमा सूचीकृत ती ताल वरपर रहेका सिमसार क्षेत्र संकटमा पर्दै गएपछि त्यहाँका चरा गुँदेतालतिर सरेका छन्।
सिमसार क्षेत्र संकटमा पर्दै गएपछि बर्सेनि जलचराको संख्या घट्दै गएको छ।
पोखराकै जलचरा पर्याप्त पाइने फेवातालमा पनि बर्सेनि जलचराको संख्या घट्दो छ।
फेवातालको सिमसार क्षेत्रको जग्गाको झण्डै ९५ प्रतिशत व्यक्तिका नाममा भएका कारण पनि सिमसार लोप हुने अवस्थामा पुगिरहेको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउँछन्।
पोखरामा हालै गरिएको जलपंक्षी गणनाबाट पनि सिमसार क्षेत्र जोखिममा पर्दै जाँदा चराको बासस्थान नै परिवर्तन हुन थालेको पाइएको हो।
नेपालमा सन् १९८७ देखि बर्सेनि नियमित रूपमा जलपंक्षी गणना गरिँदै आएको छ। सन् २००४ देखि कास्कीको पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको घिमिरेले जानकारी दिए।
प्रत्येक वर्ष ग्रेगोरियन पात्रोको जनवरी पहिलो हप्तादेखि तेस्रो हप्तामा जलचरा गणना गरिन्छ।
चराको बासस्थान सिमसार क्षेत्रका संरक्षणमा स्थानीय चासो पुगोस् भन्ने उद्देश्यका साथ स्थानीयबासीका साथै जनप्रतिनिधि समेतलाई आमन्त्रण गरिएको थियो।
यस वर्ष पुस १७-माघ ५ (जनवरी १–१९) सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी तालतलैया र नदीका भागमा जलचराको गणना गरिएको गणनाका क्षेत्रीय प्रतिनिधि घिमिरेले जानकारी दिए।
दक्षिण एसियामै पहिलो पटक वन्यजन्तु पर्यटन भित्र्याउने पायोनियर कम्पनी टाइगर टप्सको चेन होटल टाइगर माउण्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनका अगुवाइमा सन् २००४ देखि पोखरा उपत्यकामा जलचरा गणना सुरू गरिएको थियो।
पछिल्ला वर्षमा केही चरा पथप्रदर्शक, नेपाल पक्षी संरक्षण संघ पोखरा र पोखरा पंक्षी समाजका संलग्नतामा जलचरा गणना हुँदै छ।
पोखरा र आसपासका विजयपुर खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, मैदी, वेगनास र रूपा तालमा र दोस्रो दिन फेवातालमा जलपंक्षी गणना गरिएको थियो।
हालसम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका जलचरा अभिलेख गरिए पनि वर्षैभरि गरिने अध्ययनमा १०२ प्रजातिका देखिएको छ।
पछिल्ला वर्षमा ताल संरक्षणका नाममा जथाभावी बाँध निर्माण गर्ने क्रमले पनि सिमसार क्षेत्र सङ्कटमा परिरहेको सरोकार पक्ष बताउँछ।
लेखनाथको मैदी तालमा बाँध तयार भएसँगै धान खेत मात्रै बाँकी रहेको र सिमसार क्षेत्र प्रभावित भएको देखिएको छ। रूपा तालमा पनि बाँध बन्ने क्रममा रहेको र त्यसले सिमसार क्षेत्र पुर्ने देखिएको घिमिरेले बताए।
पछिल्ला वर्ष चराको संरक्षणका लागि विभिन्न पहल भएका छन्। संस्थागत रूपमा सरकारले नै लाटोकोसेरो, गिद्ध, डाँफे आदि चराको संरक्षणका लागि गुरूयोजना तयार गरी काम अघि बढाइएको छ।