म्याग्दीको ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधाका लागि ठूला सहर र जिल्लाबाहिर बसाइँसराइ गर्नेको सङ्ख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका छन्।
संघीयताको प्रयोग ग्रामीण क्षेत्रसम्म पुगे पनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहर बजारमा झर्नेको संख्या नरोकिएसँगै ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण भएसँगै जनसंख्यावृद्धिदर ऋणात्मक हुने अवस्थामा पुगेको छ।
विसं २०६८ मा एक घर परिवारभित्र ४.०९ प्रतिशत रहेकामा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजामा ३.६७ प्रतिशतमात्र बस्ने गरेको देखिन्छ।
ग्रामीण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको सङ्ख्या उकालो लागेको जनगणना कार्यालय म्याग्दीका पूर्वकार्यालय प्रमुख घनश्याम सापकोटाले बताए।
‘बसाइँसराइको अवस्था चिन्ताजनक छ, गाउँका घर खाली भएको अवस्थामा सहरबजारबाटै विवरण सङ्कलन धेरै भएको छ,’ उनले भने।
उनले खाली भएका घरपरिवार वैदेशिक रोजगारी र सहर बजारमा धेरै रहेको बताए।
जिल्लाको ६ वटै स्थानीय तहमा समेत वि.सं २०६८ को जनगणनाअनुसार जनसंख्याकमी रहेको देखिन्छ।
जिल्लाबाट भारतसहित तेस्रो मुलुकमा विदेसिनेको सङ्ख्या १० हजार ७१३ रहेको छ। यसमा पुरूष आठ हजार ८४३ र महिला एक हजार ८७० छन्।
पच्चीस हजार ३७४ घरधुरी २९ हजार २४२ परिवार सङ्ख्याको बसोबास छ। ९५.८७ लैंगिक अनुपात, औसत परिवारको आकार ३.६७ प्रतिशत र जनघनत्व ४७ रहेको छ।
जिल्लाको कूल जनसङ्ख्याको घरपरिवारमा अनुपस्थित अर्थात् विदेशमा अक्सर बसोबास गर्नेहरू ०.४९ प्रतिशत छ।
वैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरूषको सङ्ख्या अत्यधिक छ। पछिल्ला वर्षमा महिलासमेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने प्रतिस्पर्धा भएकाले महिला र पुरूषको जनसङ्ख्याको अन्तर घट्दो छ।
श्रीमान वैदेशिक रोजगारीमा गएपछि श्रीमती छोराछोरीलाई लिएर बजार झर्ने गरेकाले ग्रामीण बस्तीमा जनसंख्यापातलिँदै गएको म्याग्दी बहुमुखी क्याम्पसका पूर्वप्रमुख रामजीप्रसाद सुवेदीले बताए।
‘घर संरक्षणको अभावमा खाली हुँदा खेतबारी बाँझोमा परिणत भएको छ, संघीयताले पनि गाउँ फर्किने वातावरण बनाउन सकेन’, उनले भने।
उनले शिक्षित र आर्थिक रूपमा सम्पन्न मात्रै नभई विपन्न परिवारसमेत गाउँबाट विस्थापित हुन थालेकामा चिन्ता व्यक्त गरे।
संघीय व्यवस्था लागू भएपछि गाउँघरमै सरकारी सुविधासहित शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताले ग्रामीण बसाइँमा आकर्षित गर्ने नसकेको अवस्थामा नयाँ जनसङ्ख्याको अवस्थालाई डेमोग्राफिक विश्लेषणको आवश्यकता देखिएको सुवेदीले बताए।
बसाइँसराइँको कारण ग्रामीण क्षेत्रका विद्यालयमा समेत विद्यार्थीको सङ्ख्या कम छ।
गाउँमा उत्पादन भएका वस्तु सहरमा बिक्री हुने गरेको खाद्यान्न र कृषिजन्य वस्तु समेत बजारबाट आयात गर्नुपर्ने अवस्था छ।
‘युवाहरू विदेशमा छन्, अशक्त वृद्धवृद्धाको सेवा गर्नेहरूको समेत कमी छ’, मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमायाँ विटालुले भनिन्।
उनले गाउँमै रोजगारीका लागि स्थानीय तहबाट विभिन्न योजनाहरू सञ्चालन गरे पनि आम्दानीको हिसाबले सन्तुष्ट हुने अवस्था नभएकाले सहर बजार र विदेश जाने गरेको बताए।
बसाइँसराइको कारण गाउँबस्ती पातलिँदै जान थालेपछि बिरानो बन्दै गएको समेत जनप्रतिनिधिको भनाइ छ।
म्याग्दीमा २०६८ सालको जनगणनाअनुसार एक लाख १३ हजार ६४१ जना जनसंख्यारहेको जिल्लामा २०७८ को प्रारम्भिक नतिजामा एक लाख सात हजार ३७२ देखिएको छ।