झापाको मेचीनगर नगरपालिका–६ की ७० वर्षीया लीलामाया कार्की १२ दिनदेखि बेपत्ता छिन्।
आमा बेपत्ता भएको १२ दिन बितिसक्दा समेत प्रहरीले खोजीकार्यमा चासो नदेखाएको भन्दै परिवार र स्थानीयवासीले गुनासो गरेका छन्।
परिवारका सदस्यले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर आमाको खोजीमा प्रहरीबाट सहयोग नपाएको गुनासो गरेका हुन्।
०७८ फागुन २९ गते घरबाट हिँडेकी लीलामाया हालसम्म नफर्किएपछि परिवार र आफन्त उनको खोजीमा दिनरात भौँतारिरहेका छन्।
उनी ठूली छोरीकामा जान्छु भनेर घरबाट हिँडे पनि भोलिपल्टसम्म नपुगेपछि चौतर्फी खोजी गर्दासमेत फेला पार्न नसकेको उनका छोरा प्रेमकुमार कार्कीले बताए।
‘हामीले आफन्तकामा खोजी सकिऊ, कुनै अप्रिय घटना पो भयो कि भनेर वनजङ्गल, खोलानाला सबै चाहरीसक्यौँ तर आमालाई भेट्न सकेनौँ,’ उनले भने।
लीलामायाका जेठा ज्वाइँ यामप्रसाद मैनालीले आमा २९ गते अपराह्न २ः५५ बजे काँकडभिट्टाबाट सूर्याेदय यातायात चढेर पश्चिमतर्फ लागेको सिसीक्यामेराको फुटेज भेटिएको बताए।
चैत १ गते नै आमा हराएको उजुरी प्रहरीलाई दिए पनि हालसम्म प्रहरीले कुनै जानकारी नगराएको उनको भनाइ थियो।