महोत्तरीको बर्दिबास–११ खयरमाराको उपल्लो भेगस्थित तीन तलेमा गएको पहिरो अध्ययन थालिएको छ।
गत बुधबार राति गएको पहिरोबारे स्थलगत अवलोकन गरेपछि भूगर्भविद्ले थप अध्ययनको आवश्यकता औंल्याएका हुन्।
ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसका उपप्राध्यापक इञ्जिनियरिङ भूगर्भशास्त्री प्रकाशचन्द्र घिमिरे र वातावरणविज्ञ सरोज घिमिरेले स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँगको कुराकानीमा तीन तले पहिरो गहिरो अनुसन्धानको विषय भएको जानकारी दिए। उनीहरूले तीनसम्म पहिरोको स्थलगत अध्ययन गरेका थिए।
‘यो पाखाको माटो खुकुलिएर झरेको सामान्य प्रकृतिको पहिरो देखिँदैन’, उपप्राध्यापक प्रकाशचन्द्रले भने, ‘यहाँ नयाँ र थप अध्ययन गरिनुपर्ने भौगर्भिक अनुसन्धानको चासो देखिएको छ।’
पहिरो गएको पाहाडको शृंखला धकेलिएर ठेलिँदै गएर पहिरो गएको उनको भनाइ छ।
‘पहाडी थुम्का ठाउँ-ठाउँमा च्यातिएको देखिन्छ, चट्टानका पत्र धजा परेका छन्’, वातावरणविद् सरोज भने, ‘पहिरो गएको पहाडी थुम्कामा छिनछिनमा प्रकृति (आकार) फेरिँदै छ।’
घटनास्थल नजिकका थुम्का र पाखामा ‘पट्–पट्’ आवाज आइरहने र खयरमारा खोला पश्चिमको किनार लगातार उठिरहेको वातावरणविद् सरोजको भनाइ छ।
सबभन्दा नयाँ कुरा पहाड पूर्वतर्फ ठेलिँदै गएको दुवै विज्ञको ठम्याइ छ।
पहिरो गएको ठाउँ चुरे र तराई छुट्याउने ‘प्रगाध’ रहेको उनको भनाइ छ। तीनतले पहाडी थुम्का र त्यसको पूर्वी फेदी खयरमारा खोलाले पछिल्लो एक महिनादेखि दिनदिनैजसो रूप फेर्दै आएका खयरमाराकै बासिन्दा सामाजिक कार्यकर्ता विष्णु भण्डारीले जानकारी दिए।
अनुगमन टोलीसँगै तीन दिन सँगसँगै रहेका उनले एक महिना पहिले आफूले नयाँ अवस्था देखेपछि विज्ञहरूको चासोकै लागि सामाजिक सञ्जालमा तीन तले पहाड र खयरमारा खोलाको अवस्थितिबारे तस्वीर राखेको बताए।
‘म आफ्नै व्यवसाय प्रयोजनको भेटघाटका लागि भित्री काछ बस्तीतिर आउजाउ गरी रहन्छु’, उनले भने, ‘तीन तलेमुनि पुग्दा ‘गडगड’ ‘पटपट’ को आवाज सुनेपछि के हुँदैछ भन्ने चासो बढेको हो।’
एक महिनाअघि मास्तिर जाँदा र फर्कदा खयरमारा खोलाको पश्चिमी किनार र पहाडी पाखा फरक देखिएजस्तो लागेपछि यो खास परिस्थिति बन्दैछ भन्ने अड्कल भएको स्थानीयवासी भण्डारीले जानकारी दिए।
आफूले करिब एक महिना पहिले नै त्यहाँको परिघटनाबारे सामाजिक सञ्जालमा पस्कँदै आए पनि पहिरो गइसकेपछिमात्र विज्ञको चासो बढेको उनले बताए।
सुक्खा याममा गत बुधबार मध्यरातपछि तीन तलेमा पहिरो गएको हो। विष्फोटको आवाजले तीन/चार पटक पहिरो गएको स्थानीयले बताउँदै आएका छन्।
पहिरो गएयता पहाडी थुम्का र फेदी नजिक लगातारजसो ‘गडगड’ र ‘पटपट’ जस्तो आवाज सुनिन थालेपछि यो दैवी आपत्तिको सङ्केत भन्दै चुरे काछवासी डराएका छन्।
घटनालाई ईश्वर रिसाएर भएको तामाङ बसोबास बाहुल्यताको काछवासीको बुझाइ छ।
घटनास्थलको अवलोकन गरेका दुवै विज्ञले यो विशेष प्रकृतिको भौगर्भिक घटना भएको हुँदा यसबारे थप अध्ययन र अनुसन्धानको आवश्यकता औंल्याएका छन्।
‘हामीले स्थलगत अवलोकनपछि समाजका विभिन्न पक्षसँग पनि अन्तर्क्रिया गरेका छौं’, भूगर्भशास्त्री प्रकाशचन्द भने, ‘अब हामीले देखे बुझेको कुरा वरिष्ठ भूगर्भविज्ञ (वैज्ञानिक) डा मेघराज धिताल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जोखिमयुक्त पहिरो नियन्त्रण आयोजना पुलचोक ललितपुरका विज्ञलाई दर्शाउँछौं।’
यो गम्भीर र फरक प्रकृतिको भौगर्भिक घटना भएको हुँदा निरन्तर अध्ययन र अनुसन्धानको चासोमा पर्नुपर्ने दुवै विज्ञको ठहर छ।
पहिरो गएयता त्यसअघिको ५० मिटरभन्दा फराकिलो खयरमारा खोलाको चौडाइ साँघुरिएर १० मिटरमा झरेको छ।
खोलाको भाग खोंच बन्दै गएको, पहाडी थुम्का लगातार ठेलिँदै पूर्वतर्फ धकेलिएको र चट्टानमा धजा पर्ने क्रम जारी नै रहेको हुँदा यसले थप जोखिम बढाएको घिमिरेद्वयको निष्कर्ष छ।
अहिले सुक्खायाममै गएको पहिरो बर्खा आउनुअघि समुचित व्यवस्थापन नगरिए अकल्पनीय विपत्ती आइपर्न सक्ने विज्ञद्वयको ठम्याइ छ ।
खयरमारा उत्तरका चुरे काछका पाखा र फेदीका चौरमा गरी १० भन्दा बढी बस्ती छन्।
बर्दिबास–१० र ११ मा पर्ने यी बस्तीका बासिन्दा पहिरो गएयता राम्ररी निदाउन सकेका छैनन्।
पहिरोबारे सामाजिक सञ्जाल, छापा र विद्युतीय सञ्चारमाध्यममा लगातार समाचार प्रसारण÷प्रकाशन भइरहे पनि जनप्रतिनिधिमूलक र प्रशासनिक निकाय अवस्था हेर्नसम्म पनि नआएका खयरमारा–११ का बासिन्दा स्थानीय सामाजिक कार्यकर्ता विष्णु भण्डारीको गुनासो छ।
अब काठमाडौंबाट आएको भूगर्भविज्ञ र वातावरणविज्ञको अवलोकन र अध्ययनले सम्बद्धपक्षको चासो बढाइदिने खयरमारावासीले आश सङ्गालेका छन्।