प्रहरीले प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रतिबन्धित कारोबारमा संलग्न रहेको आरोपमा झापाको विर्तामोड नगरपालिका–९ का २२ वर्षीय अनुप मिश्र, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ का २४ वर्षीय दिपेश थापा र काठमाडौं महानगरपालिकाका २६ वर्षीय राहुल चचानलाई मंगलबार पक्राउ गरेको हो।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय कारोबार गर्न जारी गरेको नियम विनियम, निर्देशन, आदेश विपरीत प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा लागेकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
काठमाडौंको महाबौद्ध, न्युरोड, कलंकीलगायत क्षेत्रमा उनीहरू क्रिप्टोकरेन्सीको वित्तीय कारोबारमा सक्रिय रहेकाले विद्युतीय उपकरणसहित प्रहरीले पक्राउ गरेको हो। उनीहरूले हालसम्म जम्मा ६६ करोड ७९ लाख ७९ हजार रूपैयाँ बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरूसँग बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर पठाइएको प्रहरीले जनाएको छ।