प्रहरीले लागुऔषध सात किलो सेतो हेरोइनसहित दुई विदेशीलाई पक्राउ गरेको छ। नेपाललाई ट्रान्जिट बनाई लागुऔषध ओसारपसार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ।
वैशाख पहिलो साता कतार एयरवेजमार्फत दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट कतारको दोहा हुँदै काठमाडौं आएका जिम्बावेका नागरिक कपुतुला अभिसर्गले ल्याएको सुटकेस जाँच गर्दा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। उनले सुटकेसमा फल्स बटम बनाई लुकाएर ल्याएको अवस्थामा सात किलो सेतो हेरोइन फेला परेको थियो।
उक्त लागुऔषध लिन आएका भारतका ललनुनपुईलाई पनि पक्राउ गरिएको जनाइएको छ। दुवैलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम म्याद थप गरी अनुसन्धान जारी रहेको छ।
उक्त लागुऔषधको बजार मूल्य १४ करोड रूपैयाँ रहेको ब्युरोले जनाएको छ।
हुलाकमार्फत पनि लागुऔषध ओसारपसार
यसैबीच प्रहरीले हुलाकमार्फत पनि लागुऔषध ओसारपसार भएको फेला पारेको छ। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार बेलायतबाट आएको हुलाक पार्सलमा लागुऔषध फेला परेकाले उक्त घटनामा संलग्न रहेका पर्साका राजशिखर गुप्तालाई पक्राउ गरिएको छ।
अनुसन्धानमा हुलाकमार्फत आएको क्यान्डी चकलेटमा गाँजा र चरेसको मात्रा फेला परेको र उक्त सामग्री डेलिभरी गर्ने क्रममा गुप्ताले लिएको फेला परेको जनाइएको छ।
अनुसन्धानका क्रममा उनको घरमा बेलायतबाट पार्सल गरी आएको ५०० ट्याब्लेट फेला परेको र त्यसको परीक्षण गर्दा एम्फेटामिन रहेको पत्ता लागेको थियो। लागुऔषध नियन्त्रण ब्युरोले अनुसन्धान गरी पठाएको उक्त मुद्दामा गुप्ता पुर्पक्षका लागि कारागार चलान भएका छन्।