सप्तरीको खडक नगरपालिकाका गाउँलेको कुटपिटबाट बुधबार एक युवकको मृत्यु भएको छ। खडक–४ पंसेराका रामआशिष पासवानका २७ वर्षीय छोरा सन्तलाल पासवानको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। कुटपिटका आरोपितमध्ये स्थानीय दिलीप चौधरी पक्राउ परेका प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धान भइरहेको र फरार अन्य आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बताए।
सोमबार राति विवाहमा डिजे बाजा बजाएर नाचेको र जन्तीलाई रोकेका विषयमा दुई पक्षबीच झगडा भएको स्थानीयवासीले बताएका छन्। गाउँलेले झगडा छुटाएपछि पुनः अबेला राति हुल बाँधेर आएका आरोपितले सन्तलाललाई नियन्त्रणमा लिएर कुटपिट गरेको परिवारका सदस्यले बताएका छन्।
कुटपिटबाट पासवानको शरीरको विभिन्न भागमा चोटपटक लागी गम्भीर घाइते भएका थिए। विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेकामा बुधबार चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक काफ्लेले बताए।
आरोपितलाई कडा कारवाही गर्न माग गर्दै गाउँलेले पूर्व–पश्चिम राजमार्गअन्तर्गत अमाहा चोकमा बुधबार अपराह्न आधा घन्टा चक्काजाम गरेका थिए।
मृतकको विराटनगरस्थित कोसी अस्पतालमा बुधबारै शव परीक्षण भएको छ। शव गाउँ ल्याउने तयारी भइरहेको मृतकका परिवारका सदस्य छतिशलाल पासवानले बताए।