गोरखामा जन्ती बोकेको जीप दुर्घटनामा परी आइतबार साँझ तीन जनाको मृत्यु भएको छ।
चितवनबाट जन्ती लिएर आएको जीप फर्कने क्रममा सिरानचोक गाउँपालिका–५, आरूबोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिए।
बा१४च ७८१ नम्बरको जीप आरूबोटेको फिरफिरे भिरबाट झन्डै दुई सय मिटर तल खसेको उनले बताए।
दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–५ चनौटे घर भएका ५० वर्षीया देवी पोखरेल, नवलपुर जिल्ला कावासोती नगरपालिका–१४ का ८० वर्षीय कृष्णप्रसाद सिग्देल र काठमाडौँ महानगरपालिका–१६ बस्ने ५१ वर्षीय कमलराज दानी रहेको प्रहरीले जनाएको छ।
जन्ती चढ्ने क्रममा एक जनाले ह्याण्डब्रेक चलाइदिएका कारण सो दुर्घटना भएको प्रहरीको भनाइ छ। चालक चढ्न नपाउँदै जन्ती चढ्ने क्रममा सो घटना भएको थियो।
जिपमा पाँच जना सवार रहेकामा अन्य दुई जनाले भने हामफालेर ज्यान जोगाएको प्रहरीको भनाइ छ। मृतक तिनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ। शव परीक्षण गरी अन्त्येष्टिका लागि परिवारलाई बुझाइने प्रहरीले जनाएको छ।