नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति नलिइ पात्रो (पञ्चांग) प्रकाशन गर्नेलाई कार्यालयमा बोलाई स्पष्टीकरण सोध्न थालेको छ।
समितिको गठन आदेशको दफा ७ को बुँदा (ञ) र (ठ) अनुसार अनुमति नलिई प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कारबाहीको तयारीस्वरूप भौतिक उपस्थितिमै स्पष्टीकरण सोध्न थालिएको हो।
पहिलो चरणमा नेपाल पञ्चांगका पञ्चांगकार नारायण नेपाललाई कार्यालयमै बोलाएर समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी र कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले मौखिक रूपमा स्पष्टीकरण माग गरेको अनुगमन उपसमितिका सदस्य खिलहरि घिमिरेले जानकारी दिए।
नेपाललाई एक सातापछि फेरि कार्यालयमा मौखिक स्पष्टीकरणका लागि उपस्थित हुने गरी तारेखमा छाडिएको उनले सुनाए।समितिको स्वीकृति नलिई प्रकाशन भएको मुक्तिनाथ पञ्चांग (पात्रो) का पञ्चाङ्गकारलाई पनि कार्यालयमै उपस्थित भएर स्पष्टीकरण माग गरिने भएको छ।
मुक्तिनाथका पञ्चाङ्गकार राजधानी बाहिर रहेकाले अर्को साता स्पष्टीकरण सोधिने समितिले जनाएको छ।
यसैगरी समितिले अनुमति नलिई प्रकाशन भएका भित्तेपात्रोको अनुगमनलाई पनि तीव्र बनाएको छ।
अहिलेसम्मको अनुगमनका क्रममा चार दर्जन भित्ते पात्रो अनुमति नलिइ प्रकाशन भएको पाइएको छ।
अहिलेसम्म समितिसँग अनुमति लिएर प्रकाशन हुने भित्तेपात्रोको सङ्ख्या भने एक हजार नाघेको छ।
अनुमति नलिई प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कारवाही गर्न कार्यविधि बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिलाई निर्देशन दिएको छ।
मन्त्रालयले समितिलाई कार्यविधिको मस्यौदा तयार पारी पेश गर्न निर्देशन दिएको हो।
कार्यविधि स्वीकृत भएपछि अनुमति नलिई प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कारबाही गरिने भएको छ।
मन्त्रिपरिषद्ले २०७७ पुस २० गते समिति गठन आदेश स्वीकृत गरेपछि पात्रो र भित्तेपात्रोले स्वीकृति लिनुपर्ने व्यवस्था नेपाल राजपत्रमा प्रकाशन भएको थियो।
वि.सं २०७८ असारमा आदेश नेपाल राजपत्रमा प्रकाशन भएपछि यो व्यवस्था यसै वर्षको पात्रो र भित्तेपात्रो प्रकाशनदेखि कार्यान्वयनमा आएको हो।