पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ बस्ने २६ वर्षीय दयाराम मुक्तान र भीमफेदी गाउँपालिका–१ निवासी २३ वर्षीय दिपेश गोले छन्।
डुम्रेबाट दमौलीतर्फ आउँदै बा४३प ३०२० नम्बरको मोटरसाइकललाई विपरीत दिशामा गुडिरहेको ग३च ४१८२ गाडीले ठक्कर दिँदा उक्त घटना भएको हो।
मुक्तानको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा र गोलेको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।