वर्षासँगै आएको पहिराका कारण बागलुङको काठेखोला गाउँपालिका–७ रेशका पाँच परिवार विस्थापित भएका छन्। पहिरोले स्थानीय सम्मरबहादुर कार्की, मञ्जु कार्की, उजेली कार्की, प्रेमबहादुर जिसी र लोकबहादुर जिसीको घरमा पूर्ण रूपमा क्षति पुर्याएको छ।
स्थानीय लिलाबहादुर कार्कीका अनुसार उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। सो स्थानका अन्य १४ घर पनि पहिराको उच्च जोखिममा छन्। अहिले स्थानीयको सहयोगमा पहिरो हटाउने कार्य जारी छ।
काठेखोला गाउँपालिकाको न्यायिक समितिले पीडितलाई राहत वितरणको तयारी गरेको छ। उनीहरूलाई छिमेकीको घरमा आश्रय लिने गरी व्यवस्थापन मिलाइएको छ।