जलवायु परिवर्तनले महिलाका जनजीवन र पर्यटन क्षेत्रमा पारेको असरबारे ध्यानाकर्षण गराउन डोल्पाको शे-फुक्सुण्डो क्षेत्रमा पदयात्रा गरिने भएको छ।
आगामी अक्टोबरमा सातै प्रदेशका जनप्रतिनिधिसहित ६० जना महिलाको समूहले पदयात्रा गर्न लागेका छन्। यो समूहमा विविध क्षेत्रका अगुवा महिलाको सहभागिता रहनेछ।
साथसाथै संस्थाले यसअघि मार्च ८ मा सगरमाथाको कालापत्थरमा पदयात्रा आयोजना गरेको थियो।
बुधबार भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटनलाई विश्वस्तरमा पुर्याउन र जलवायु परिवर्तनको असरबारे सन्देश दिन यो पदयात्रा प्रभावकारी हुने बताएका थिए।
यस्तै कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले पदयात्रा र हिमाल आरोहण नै नेपालको पर्यटनको मुख्य आधार भएकाले यसलाई बचाउन सरकार र जनस्तरबाट पहल हुनुपर्ने बताएकी थिइन्।
साथसाथै संस्थाकी अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा पारेको असर, प्रकृतिमा अधारित पर्यटन र स्थानीय महिलामाथि पारेको समस्यालाई विशेष रुपमा उजागर गर्न र त्यसको समाधानका लागि विभिन्न निकायको ध्यानाकर्षण गराउने तयारी रहेको जानकारी दिएकी थिइन्।
यात्रामा सरकारका विभिन्न तह, कूट्नीतिक नियोग, पत्रकारसहितको सहभागिता हुने आयोजकले जनाएको छ।
हवाईमार्ग हुँदै डोल्पाको जुफाल विमानस्थल, त्यसपछि सदरमुकाम दुनैबाट तीन दिनको पैदलयात्रा गरी महिला टोली फुक्सुण्डो क्षेत्रमा पुग्ने तयारी छ।
संस्थाले गत मार्च ८ मा नारी दिवसका दिन विभिन्न ४० जना महिला लुक्लादेखि सगरमाथाको कालापत्थर क्षेत्रमा पैदल पुगेर जलवायु परिवर्तनसम्बन्धी विशेष घोषणापत्र जारी गरेको थियो।
फोक्सुण्डु पदयात्रामा मधेशसहित विभिन्न प्रदेशबाट प्रतिनिधित्वमूलक रुपमा सांसद र अन्य जनप्रतिनिधि, डोल्पाका स्थानीय जनप्रतिनिधि र सरोकारवाला पक्षसमेत सहभागी भई सेफुक्सुण्डो घोषणापत्र जारी गर्ने कार्यक्रम छ।
‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस एण्ड नेचर वेस टुरिज्जम डेभलपमेण्ट’ भन्ने नारासहित उक्त अभियानको तयारीमा आयोजक जुटेको छ।