श्रीमतीको तस्बीर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
वैदेशिक रोजगारीको सिलसिलामा ओमनमा रहेकी श्रीमतीको नक्कली फेसबुक बनाई फोटोसहित अश्लिल क्याप्सन सार्वजनिक गरी चरित्रहत्या गर्ने रूपन्देहीको सैनामैना नगरपालिका बस्ने ३६ वर्षका जीवन दमाईलाई पक्राउ गरिएको हो।
प्रहरीको साइबर ब्युरोले आज एक सूचना जारी गरी अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान जारी रहेको जनाएको छ।
यस्तै ब्युरोले सामाजिक सञ्जालमा चार नाबालिकाको तस्बिर प्रयोग गरी नक्कली फेसबुक खोलेर अश्लिल शब्द प्रयोग गरी पीडितको आफन्त तथा साथीभाइलाई पठाएर चरित्र हत्या गर्नै अर्का व्यक्ति पनि पक्राउ गरेको जनाएको छ।
यसरी चरित्रहत्या गर्नेमा सिन्धुली जिल्लाको रातोगुराँसे घर भई काठमाडौंको कीर्तिपुर बस्ने विकास भन्ने राजेश विक छन्।
दुवैमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए।