नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले शुक्रबार साँझ राष्ट्रिय समाचार समिति (रासस) चितवनका समाचारदाता कृष्ण आचार्यमाथि कुटपिट गरेका छन्।
कार्यालय परिसरमा मादक पदार्थ सेवन गरेर भोज गरेको भन्ने सूचनाका आधारमा समाचार सम्प्रेषण गर्न गएका आचार्यमाथि कुटपिट भएको हो।
सो क्रममा आचार्यको शरीरमा घाउचोट लागेको छ। उनको कपडा च्यातिएको थियो।
कुटपिट भएपछि उनी त्यहाँबाट भागेका थिए।
उनले बोकेका दुई वटा मोबाइल पनि विद्युत प्राधिकरणका कर्मचारीले खोसेका थिए।
शुक्रबार राति नै जिल्ला प्रहरी कार्यालयले एक जनालाई पक्राउ गरेको थियो।
प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले आज दोषी कर्मचारीलाई प्रहरी कार्यालयमा हाजिर गराउने सर्तमा कार्यालय प्रमुख राजिव सिंहले कागज गरेको जानकारी दिए।
आचार्य स्थानीय नारायणी अनलाइन र ‘सञ्चारपत्र’ दैनिकका प्रकाशकसमेत हुन्।