‘परोपकाय पुण्याय पापाय परपीडनम्’ अर्थात् अरूको उपकार गर्नुभन्दा ठूलो अर्को कुनै धर्म हुँदैन र अरूलाई पीडा (दुःख) दिनुभन्दा तल्लोस्तरको अर्को कुनै पाप हुँदैन। त्यसमा पनि सामाजिक परोपकारलाई हिन्दू धर्मशास्त्र बेदलगायत विभिन्न धार्मिक ग्रन्थमा समेत उत्कृष्ट धार्मिक कार्य मानेको छ।
समाजको हितका लागि आफ्नो तर्फबाट गरिने उपकारमूलक कार्य नै सामाजिक परोपकार हो।
सामाजिक परोपकारका विभिन्न क्षेत्रमध्ये अनिकाल र आपतविपतमा परेकालाई समाजका सबै सदस्य मिलेर सहयोग गर्ने।
भविष्यमा आउन सक्ने संकटलाई मध्यनजर गर्दै पहिलेदेखि नै अन्नलगायतका आवश्यक सामग्रीको जोहो गर्ने प्रचलन समाजमा थियो।
पहिले-पहिले अनिकाल र विपद् पर्दा हुनेले अन्न दिने, नहुनेले लाने प्रथा थियो।
गाउँलेले त्यसलाई ‘धर्म भकारी’को नाम दिएका थिए। किसानले मुठ्ठी दान गरेर धर्म भकारीमा अन्न थुपार्थे। अन्न नासिँदा, खडेरी वा बर्खा आदि समयमा त्यही अन्नको पालोपैंचो चल्थ्यो। भोकमरीमा हातमुख जोरिन्थ्यो।
समय फेरियो। गाउँघरमा पुस्तौनी प्रथाका रूपमा रहेको धर्म भकारी समयक्रममा भने हराउँदै गयो।
अर्थोपार्जनका नयाँ उपाय निक्लिए। बजार बस्यो। पैसाबाट किनमेल हुन थाल्यो। सहकारी र बैंकहरू खुले। मानिसले ऋण लिन थाले, एैंचोपैंचो बिर्से। यसले धर्म भकारीजस्ता सामाजिक चल्ती र थिति ओझेलमा परे तर आधुनिक विकासको चरम स्थितिमा पनि हाम्रा गाउँघरमा अझै पनि पुराना संस्कृति र जीवनशैलीका अवशेष बाँकी छन्।
त्यसकै एक उदाहरण हो, म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको 'धर्म भकारी'।
ठ्याक्कै उहिल्यैकै स्वरूप र तरिकामा नचले पनि गाउँलेले जेनतेन त्यसलाई जोगाएका छन्। ग्रामीण क्षेत्रका बासिन्दालाई खाद्यान्नको संकट पर्दा सारथी बन्दै आएको धर्म भकारी खाद्यान्नको आयात बढेसँगै संरक्षणको पर्खाइमा छन्।
पछिल्लो समय बजारबाट आयातित खाद्यान्न छ्यापछ्याप्ती गाउँघरमा आउन थालेपछि ताकमस्थित धर्म भकारी संकटमा पर्दैै गएको स्थानीयवासी गोपाल आचार्य बताउँछन्।
स्थानीय प्रगतिशील महिला अन्न बचत तथा कृषि सहकारी संस्थाले ताकममा सञ्चालन गरेको धर्म भकारीको महत्व खाद्यान्न आयातका कारण कम हुँदै गएको हो।
स्थानीय गोपाल आचार्यका अनुसार अहिले सो अन्न भकारीमा ४०/४५ मुरी धान मात्र रहेको र आगामी असोज/कात्तिकबाट कोदो, मकै, गहुँ पनि संकलन गर्ने योजना रहेको छ।
पहिला गाउँमा चाडबाडको समयमा चामल नपाइने भएकाले मंसिरमा धान उठाएपछि सदस्यसँग संकलन गरेर धर्म भकारीमा राख्ने र चाडबाडको अवसर पारेर भदौ, असोजमा आवश्यक पर्ने सदस्यलाई धान उपलब्ध गराउँदै आएको संस्थाकी पूर्वअध्यक्ष रुक्मिणी पौडेलले जानकारी दिइन्।
‘धर्म भकारी अलि पहिलैबाट सञ्चालित थियो, त्यसलाई थप व्यवस्थापनका लागि २०६८ सालमा प्रगतिशील महिला अन्न बचत तथा कृषि सहकारी संस्था स्थापना गरी सहकारीमार्फत् सञ्चालन गर्दै आएका छौं’, पौडेलले भनिन्, ‘तर पछिल्लो समय खाद्यान्नको आयातका कारण धर्म भकारीको महत्व कम हुँदै गएको छ।’
नब्बे जना शेयर सदस्य रहेको संस्थाले सुरूका वर्षहरूमा मंसिरमा धान भित्र्याउने समयमा खलो (धान झाँट्ने ठाउँ) बाट नै ८० मुरीसम्म धान संकलन गर्दै आएको थियो।
संस्थाले शेयर सदस्यसँग शेयरका रूपमा धान संकलन गर्ने र संकटको समयमा सदस्यलाई नै उपलब्ध गराउँदै आएको छ। संस्थाबाट धान लैजाने सदस्यले मंसिरमा पाँच पाथीको थप एक पाथीसहित संस्थामा धान बुझाउनुपर्दछ। धान लगेको सदस्यले मंसिरमा धान नै उपलब्ध गराउनुपर्छ, धानको सट्टा पैसा दिन पाइँदैन।
चाडबाडको समयमा चामलको अभाव हुने भएकाले विगतमा यो निकै प्रभावकारी थियो, स्थानीय ईश्वरी आचार्यले भनिन्, ‘पछिल्लो समय पैसा र खाद्यान्नको अभाव हुन छोडेपछि धर्म भकारीको महत्व पनि क्रमशः कम हुँदै गएको छ।’
पहिले पहिले चाडवाडको समयमा चामल नपाइने समस्या थियो, त्यतिबेला धर्म भकारी आवश्यक ठानेर स्थानीय अगुवाले यसको सञ्चालन गरे, हराउला कि भन्ने चिन्ता भएपछि सहकारीमार्फत् व्यवस्थापन गर्दै आएका छौं, तर अझै यसलाई व्यवस्थापन गर्न संस्थालाई धौधौ परेको स्थानीयले बताएका छन्।
संस्थाले पछिल्लो समय सदस्यसँग साप्ताहिक रूपमा बचत संकलन र कर्जा लगानीसमेत गर्दै आइरहेको छ।
‘हामी अझै अलमलमा छौं, कसरी यसलाई संरक्षण गर्ने र सहकारीलाई सदस्यको सेवामा लगाउने भन्ने विषयमा सरोकारवालाका तर्फबाट सहयोगको अपेक्षा गरेका छौं’, उनले भनिन्।
गाउँघरमा उत्पादन हुने खाद्यान्न लगायतका वस्तुको उत्पादन, भण्डारण र प्रयोग कम हुँदै गएको, आयातित खाद्यान्नका कारण गाउँका जनताको आम्दानी बजार झरेको र विभिन्न प्रकारका विषादी प्रयोग भएका खाद्यान्न खान थालेका कारण रोगको प्रकोपसमेत बढेको स्थानीयवासीको भनाइ रहेको छ।
गाउँमा चाडबाडको समयमा चामलको समस्या हुन नदिन, महिलालाई संगठित भएर काम गर्न, नेतृत्व विकासका लागि सहयोग पुगोस् भनेर धर्म भकारी सञ्चालन गर्नुका साथै त्यसको संरक्षणको जिम्मा महिला सहकारीलाई दिएको स्थानीयवासी देवेन्द्र थापाले बताए।
उनले धर्म भकारीलाई सबैको सहयोग र समन्वयमा निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिए।
ग्रामीण क्षेत्रमा सहकारीले जनताको आयस्तर उठाउन तथा सहज जीवनयापनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन्, सहकारीको प्रवर्द्धनका लागि स्थानीय तहलगायत सरकारी निकाय र अन्य संघ/संस्थाको समेत सहयोग हुनुपर्नेमा स्थानीयवासीले जोड दिएका छन्।
धर्म भकारीबाटै पछिल्लो समय खाद्य बैंकको अवधारणा आएको पाइन्छ।
देशका विभिन्न ठाउँमा यस्त खाद्य बैंकमार्फत् किसानलाई बीउबिजन र अन्नपात वितरण गर्ने गरिन्छ। चाहिँदाको बेला धर्म भकारीबाट अन्न झिकेर लान पाइने र पछि प्रतिपाथिको एक मानाका दरले ब्याजसहित फिर्ता गर्नुपर्ने नियम समितिले बनाएको छ।
धर्म भकारीको रेखदेखसहित अन्न लेनदेनको प्रबन्ध समूहले नै गर्ने गरेको छ।
वर्षभरिमा जहिले अन्न लगे पनि नयाँ अन्न फलेर भित्र्याउने याममा अन्न फिर्ता गर्नुपर्छ। यदि त्यसबेला सबै फिर्ता गर्न नसके ब्याजबापतको मात्र धर्म भकारीमा जम्मा गरी र बाँकी आउँदा वर्षमा तिर्न पनि सकिने व्यवस्था छ।
धर्म भकारीलाई व्यवस्थित गर्न भवन निर्माण समेत गरिएको छ। स्थानीय स्व झनबहादुर थापा र उनकी श्रीमती लाटीदेवी थापाबाट रु पाँच लाख बराबरको जग्गा निःशुल्क प्राप्त भएको र सोही जग्गामा श्रमदानबाट भवन निर्माण गरिएको ताकमकी अगुवा महिला नेत्री अमृता भण्डारीले बताइन्।