शुक्रबार ५ हजार मिटर दौडमा भारतीय खेलाडी सुनील धावरलाई १ सेकेन्डले पछि पार्दै गोपीचन्द्र पार्कीले नेपाललाई स्वर्ण दिलाए।
पार्कीले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गरे। रजतमा सिमित बनेका भारतका सुनील धावरले १४ मिनेट ५५.२१ मा पूरा गरे।
कास्य पनि नेपालकै हरिकुमार रिमालले जिते। उनी भारतीय खेलाडीभन्दा झण्डै दुई सेकेन्डले पछि परे।
गोपीचन्द्रको स्वर्णसँगै नेपालले ५ हजार मिटर दौडमा पहिलो स्वर्ण भित्र्याएको छ। यसअघि बंगलादेशमा भएको १०औं सागमा नेपालका लागि राजेन्द्र भण्डरीले ५ हजार मिटर दौडमा स्वर्ण दिलाएका थिए। तर पछि डोपिङमा असफल भएपछि उनको पदक खोसिएको थियो।
‘यो स्वर्णको लगि १४ वर्षको मिहिनेत छ। १०औं सागमा नेपालले गुमाएको स्वर्ण जसरी पनि फिर्ता गर्नुथियो। त्यही भएर जसरी पनि जित्छु भन्ने थियो,’ जितको खुसियाली साट्दै गोपीचन्द्रले भने।
त्यसपछि उनले १४ वर्षअघिको कुरा कोट्टाए जतिबेला उनी ६ कक्षामा पढ्थे। त्योबेला बंगलादेशमा १०औं साग चल्दै थियो। त्यहीँबेला टिचरले नेपालका राजेन्द्र भण्डारीले डोपिङका कारण सागमा स्वर्ण गुमाएको समाचार कक्षामा सुनाए।
उनले विगत सम्झिँदै भने, ‘त्यहीँ बेला अब यो मेडल म ल्याउँछु भन्ने लाग्यो।’
त्यतिञ्जेल उनलाई दौड भन्ने थाहा नै थिएन। कुद्ने, उफ्रिने त गर्थे तर दौडमा पनि प्रतियोगिता हुन्छ भन्ने उनलाई थाहा थिएन।
२०६३ सालमा उनी पढेकै धनगढीको विद्यालयमा स्कुल स्तरीय दौड प्रतियोगिता भयो। गोपीले पनि भाग लिए। पहिलोचोटीमै उनले सबैलाई उछिने।
‘सबैले हाइहाइ गर्नुभयो। गोपी त राम्रो कुद्ने रैछ भनेर भन्नुभयो,’ उनले त्योबेला पाएको तारिफ सम्झिए।
जितेको पहिलोपटकमै गोपी काठमाडौं आउन छनोटमा परे। उनी राष्ट्रिय स्तर खेल्न धनगढीबाट काठमाडौं आए।
‘राष्ट्रिय स्तरमा आउँदा त सबै आर्मी, सशस्त्र र प्रहरीले जित्ने रैछ। उहाँ सबैले राम्रो कुद्छ भने तर यहाँ आएको त लास्ट पो भएँ,’ उनले हाँस्दै भने।
त्यसपछि उनलाई राम्रो खेल्न विभागमा छिर्नुपर्ने रैछ भन्ने अनुभूति भयो। नभन्दै २०६६ सालमा उनी सशस्त्र प्रहरी बलमा भर्ना भए। तीनवटा तालिम सकेर उनी विभागमा पनि दौडतिर लागे।
भारतमा भएको अघिल्लो साग संस्करणमा उनी १० हजार मिटर दौडमा सहभागी थिए। तर राम्रो प्रदर्शन गर्न सकेनन्।
‘भारत हामीभन्दा खेलकुदमा धेरै अगाडि छ। त्यहीँ अनुसारको मैले मिहिनेत गरे। यसपालि त भारत हैन जो आएपनि जित्छु भन्ने थियो,’ उनले भने।
आफूले दोस्रो, तेस्रो मेडल नै नसोचेको भन्दै नेपाललाई मनले गरेको वाचा पूरा गरेको उनले बताए।
उनले स्वर्ण जित्दा यो दृश्य उनको परिवारले धनगढीबाटै हेरिरहेका थिए। उनलाई साथ दिन परिवारबाट उनका भाइ शिवराज पार्की रंगशालामै थिए। भाइ शिवराज पनि धावक हुन्। तर यो सागमा उनी सहभागी छैनन्।
‘जितेपछि घरबाट फोन गरेर सबैले बधाई दिनुभयो,’ गोपीले भने।
भारतका खेलाडीलाई एक सेकेन्डले पछि पारेका गोपीले भने, ‘दौड भनेको मिलिसेकेन्डले फरक पार्छ। एक सेकेन्ड त धेरै हो।’
भारतका खेलाडीले सुरुवाती अग्रता लिएकोमा गोपीले लास्ट ल्यापमा आएर आफूलाई कभर गरे।
‘१४ वर्षको त्यो फुच्चेको सपना पूरा गर्नु थियो। लास्ट ल्यापबाट जसरी पनि किक गर्नुपर्छ भन्ने थियो,’ अग्रता लिएको क्षण सुनाउँदै उनले भने।
अबको आफ्नो लक्ष्य कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको इच्छा पूरा गर्नु रहेको उनले बताए।
‘उहाँले सागमा आफूले म्याराथनमा बनाएको २ घन्टा १५ मिनेट ०३ सेकेन्डको रेकर्ड नेपाली खेलाडीले नै ब्रेक गरोस् भन्ने छ, त्यो म पूरा गर्न चाहन्छु।’
उनले आफू पुन: म्याराथनमा फर्किने बताए।