प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सकिएको दक्षिण एसियाली खेलकुद(साग) पदक जित्ने खेलाडीलाई सरकारी निवास बालुवाटारमा बोलाएर पुरस्कार घोषणा गरेका छन्।
बुधबार दिउँसो भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पौने घन्टा सम्बोधन गरेका थिए।
सम्बोधनका क्रममा उनले खेलाडीहरूको उपलब्धिको प्रशंसा गर्दै भविष्यमा सरकार सेवा सुविधा विस्तारमा ध्यान दिने वाचा गरे।
उनले जित्छु भनेर कुनै काम गर्दा पूरा गर्न सकिने बताए।
प्रशिक्षकहरूलाई सगरमाथा चढाउने शेर्पाहरूसँग तुलना गर्दै प्रधानमन्त्री खेलाडीको सफलतामा प्रशिक्षकको भूमिका अहम् हुने उल्लेख गरे।
प्रधानमन्त्री ओलीले आफू पनि खेलाडी भएको उल्लेख गरे।
सागमा पौडीतर्फ ४ स्वर्ण जितेकी कीर्तिमानी खेलाडी गौरिका सिंहलाई उल्लेख गर्दै उनले आफू पनि पौडीबाज भएको बताए।
‘म गौरिकालाई बताउन चाहन्छु- म पनि एउटा स्विमर हो। म पनि ठूल्ठूला बगेका खोलाहरू पुल, डुंगाबाट होइन खोलाबाटै तरिदिन्थें,’ प्रधानमन्त्री ओलीले भने,‘हाम्रो समयमा स्विमिङ पुल चाहिँदैनथ्यो। खोलासँग राम्रो जानपहिचान भइसक्याथ्यो त्यसकारण बगाउँदैनथ्यो। धेरैपल्ट म बग्दाबग्दै बगाउनबाट जोगिएको छु किनभने पौडी खेल्न जानेको र सिकेको हुनाले।’
सम्बोधनको अन्त्यमा उनले खेलाडीसँग ‘चियानास्ता खानुभयो?’ भनेर ठट्टा गरेका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले खेलाडीले पाउने पुरस्कारको घोषणा गरेका थिए।
उनले यो पुरस्कारबाट खेलाडीहरूको सरकार उचित सम्मान गरेको देखिएको बताए।