१३ औं दक्षिण एसियाली खेलकुद (साग)को गल्फमा दुई स्वर्ण जिते पनि सुवास तामाङले ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा रहेका आफ्ना बुबाआमालाई फोन गरेनन्।
उनका बुबा आमालाई न त गल्फ खेल के हो भन्ने थाहा छ। न उनीहरूले गल्फ कोर्स नै देखेका छन्।
मंसिर २० गते नै सुवासले गल्फतर्फ नेपालका लागि स्वर्ण जितेका थिए। तर उनको बुबा उत्तम तामाङले त्यसको भोलिपल्टमात्र छोराले देशका लागि स्वर्ण जितेको थाहा पाए।
सुवासले भने- बुवा विवाहको भोजमा जानुभएको थियो। गाउँकै राजन दाइले मोबाइलमा मेरो फोटो देखाएर 'यो तपाईंको छोरा हो' भनेर सोध्नुभएछ। बुवाले जवाफमा 'हो' भन्नुभएछ। अनि राजन दाइले नै 'छोराले गोल्ड मेडल लिएर आएछ' भनेर खबर गरिदिनुभएछ।
स्वर्ण जितेको सुनेपछि बुबाले सुवासलाई फोन गरे।
‘बुबाले बधाई दिनुभयो। खुसी हुनुभयो', सुवासले सेतोपाटीसँग भने, 'अझै मेहनत गर्दै जानु, एक न एक दिन भगवानले दिन्छन् भन्नुभयो।’
‘धनीहरूको खेल’ गल्फका स्वर्ण विजेता सुवासका बुबा दैनिक ज्याला मदजुरी गर्छन्। आमाको एउटा खुट्टा राम्ररी चल्दैन।
गरिब परिवारमा जन्मिएका सुवासले पढ्न पाएनन्। कक्षा ३ सम्ममात्र पढेका सुवास सावाँ अक्षरसम्म चिन्छन्।
'म सानो छँदा बुबा र आमा सानुमाया तामाङ इटाभट्टामा काम गर्नुहुन्थ्यो', सुवास सम्झन्छन्, 'म पनि त्यहीँ जान्थें।’
सुवास इटाभट्टामा बुबा र आमाले काम गर्दा घरमा भाइ हेर्थे। खाना बनाउँथे। परिवारले भोगेको गरिबी सुवासको मनमा गडेको छ।
'सानो छँदा हाम्रो र अरूको दसैँ फरक हुन्थ्यो', सुवास भन्छन्, 'अरूका घरमा सेल रोटी धेरै पाक्थ्यो, हाम्रोमा थोरै। अरूले जिन्स पाइन्ट लगाउँथे। म ट्र्याक सुटमा चप्पल लगाएर हिँड्थें।’
तीन कक्षामा पढ्दापढ्दै उनले स्कुल छाडे।
'बुबा आमाको स्थिति राम्रो थिएन', सुवास भन्छन्, 'अहिले पनि बुबा आमा तँलाई पढाउन सकिएन भन्नुहुन्छ।’
सागमा गल्फ तर्फ स्वर्ण जितेपछि पनि सुवासका बुबालाई छोरालाई पढाउन नसकेको चुकचुक छ।
'छोराले पढेको त छैन तैपनि गरेछ भनेर बुबा खुसी हुनुभयो', सुवासले फोनमा भएको कुराकानी सुनाए।
त्यसो त सुवासको गल्फसँग सम्बन्ध कुनै फिल्मी संयोगभन्दा कम छैन।
सुवासकी छेमा(आमाकी बहिनी) काठमाडौं बस्थिन। छेमाले आफ्नो सानो छोरा हेर्न सुवासलाई काठमाडौं ल्याइन्। एकदिन सुवास काठमाडौंमै बस्ने फुपूको घर गए। फुपूले छोरा बिनोद तामाङलाई खाना पुर्याइदिन सुवासलाई अह्राइन्। बिनोद त्यतिबेला एयरपोर्टसँगै रहेको 'रोयल नेपाल गल्फ क्बल'मा काम गर्थे।
खाना पुर्याउन आएका सुवासको भेट श्याम तामाङसँग भयो। श्याम गल्फ क्लबको प्रशासनमा काम गर्थे।
'श्याम दाइले काम गर्ने हो भनेर सोध्नुभयो', सुवास सम्झन्छन्, 'मैले हुन्छ भनें।’
उनको काम गल्फरहरूले हानेको बल टिप्ने थियो। महिनाको चार हजार तलब थियो। बिहान ६ बजे देखि १२ बजेसम्म सुवास गल्फरले हिर्काउने बल टिप्थे।
खाजा खान तलबबाहेक २५ रुपैयाँ पाउथे।
'२५ रुपैयाँले चाउमिन आउँथ्यो। म चाउमिन खान्थें त्यसपछि गल्फरहरूले ब्रेक लिएका बेला उनीहरूको लठ्ठीले बल हिर्काउँथे।’
उनी रोयल नेपाल गल्फ क्लबका मेम्बरले खेलिरहँदा भित्ताबाट हेरेर बस्थे।
'आहा यसरी हान्न पाए त भन्ने सोच आउँथ्यो', सुवास भन्छन्, 'श्याम दाइले बल हान भनेर हौस्याउनुहुन्थ्यो।’
सुवास खेलाडीहरूले आराम गरेको मौकामा गल्फ खेल्दै थिए। त्यतिबेला नेपाल गल्फ एसोशिएसनका अध्यक्ष टासी घलेको नजर सुवासमा ठोक्कियो।
'मैले बल स्विङ गराएको टासी सरले देख्नुभएछ', सुवास सम्झन्छन्, 'टासी सरले बल राम्रो हान्दो रैछौ भनेर जुनियरतर्फ गल्फ खेल्न अह्राउनुभयो।’
जुनियरतर्फको खेलमा सुवासले राम्रो प्रदर्शन गरे। उनलाई लुगा, बल, पञ्जा, टी (जमिनमा बल अड्याउने) सबै सामान टासी घलेले नै किनिदिए।
'खेल्दा राम्रो स्कोर आयो', सुवास भन्छन्, 'त्यसपछि मैले एमेच्योर खेलें। प्रतियोगिताहरुमा फस्ट सेकेन्ड हुन थालें।'
गल्फमा राम्रो गर्न थालेपछि भने सुवासको भविष्य फराकिलो बन्दै गयो। टासी घलेले नै उनलाई भुटान, बंगलादेश गल्फ खेल्न लिएर गए। नेपाल गल्फ एशोसिएशनबाट छात्रवृत्ति मिलाएदिए। सिंगापुरमा तालिम दिलाउन सहयोग गरे।
उनले दुई महिनाअघि सूर्य नेपाल च्यालेन्ज जिते। यो व्यावसायीक प्रतियोगिता हो। उनले जुनियरतर्फको फाल्डो सिरिज एसिया नेपाल च्याम्पियनसिपमा समेत जित हात पारिसकेका छन्। भियतनामको फाल्डो एसिया सिरिजमा सहभागिता जनाए। गल्फले नै उनलाई चीन र थाइल्याण्ड पुर्यायो।
पहिलो पटक गल्फ खेल्न भुटान जानुअघि सुवासले आमालाई फोन गरे। आमा फोनमै रोइन्। आमा खुसीले रोइन् कि दु:खले सुवासले अझै भेउ पाउन सकेका छैनन्।
विदेशमा हुने प्रतियोगितामा सहभागी हुन जाँदा सुवास विदेशी खेलाडीसँग बोल्दैनन् किनकी उनलाई अंग्रेजी आउँदैन।
तर विदेशी गल्फ कोर्सले भने सुवासलाई लोभ्याएको छ।
'ठाउँ नै राम्रो। सबैतिर झिलिमिली, ठूल्ठूला घर, राम्रो रोड, गल्फ कोर्स पनि दामी', सुवास भन्छन्, 'विदेशी खेलाडीको लाइफ छुट्टै हुन्छ। गाडीमा आउँछन् चट्ट।’
विदेशी खेलाडीको जीवनशैली देखे पनि सुवासलाई त्यस्तै हुँला भन्ने लागेको छैन। बरु आफ्नो भाइलाई पनि गल्फमा ल्याउने र अंग्रेजी सिकाउने धोको छ।
उनका दश वर्षका भाइ सरकारी स्कुलमा कक्षा ४ मा पढ्छन्।
'बोर्डिङमा पढाउन पाए अंग्रेजी राम्रो हुन्थ्यो', सुवास भन्छन्।
सुवासको घर ललितपुरको एकमात्र गाँउपालिका कोज्योसोममा पर्छ। उनी दसैंतिहारमा मात्र घर जान्छन्। बरू बेलाबेला बुवा काठमाडौं आउँदा जम्मा भएको पैसा पठाउँछन्।
गाउँमा सुवासको परिवारको एक कोठे घर छ। भूकम्पले चर्किएको पूरानो एक कोठे घरमा खाना बनाउने ठाउँ छ।
'एउटै कोठामा सबैजना बस्छौं', सुवास भन्छन्, 'पैसा कमाइयो भने घर बनाउने इच्छा छ।’
सुवास अहिले नेपाल आर्मीको क्लबमा खेलाडीका रूपमा करारमा आवद्ध छन् ।
विदेशी खेलाडीको जीवनशैली देखे पनि सुवासलाई आफ्नो जीवनमा त्यस्तो होला भन्ने अपेक्षा छैन। भर्खर १७ वर्षका सुवासलाई गत शुक्रबार साग जितेपछि प्रतिष्पर्धी खेलाडीले बधाई दिए।
'उनीहरूले कङ्ग्र्याचुलेशन्स भने', सुवासले विदेशी खेलाडीको फोटो मोबाइलमा देखाउँदै भने, 'सबै दाह्री जुगाँ भएका खेलाडी आएका थिए।’
सुवासले मोबाइल पनि गल्फ खेलेरै पाएका हुन्। भुटानमा भएको गल्फमा उनले मोबाइल पुरस्कार पाएका हुन्। मोबाइलमा उनी फेसबुक चलाउँछन्।
'साथीहरु टन्नै छन्', सुवास भन्छन्, 'जितेपछि धेरैले बधाई दिए।'
तर सुवास मोबाइलमा लेखेर जवाफ फर्काउन सक्तैनन्। उनी धेरैजसो भ्वाइस मेसेज पठाउँछन्।
सागका दोहोरो स्वर्ण विजेता सुवासलाई इण्डियन गल्फ टुर खेल्ने इच्छा छ।
सुवासले सागमा व्यक्तिगततर्फ स्वर्ण जित्दा टिम गेमतर्फ पनि राम्रो प्रदर्शन गरेका थिए।
गल्फका प्रशिक्षक धनबहादुर थापालगातार एकै किसिमको प्रदर्शन सुवासले गरेका कारण दोहोरो स्वर्ण सम्भव भएको बताउँछन्।
सुवासले टिम गेमतर्फ शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङसँग मिलेर स्वर्ण जितेका थिए।
प्रशिक्षक थापा ७२ होलको गल्फमा सुवासको प्रदर्शनले ४ दिन खेल्नुपर्ने खेलमा तेश्रो दिन नै नेपालले लगभग स्वर्ण सनुश्चित पारेको बताए।
'श्रीलङ्का, बंगलादेश र भुटानभन्दा व्यक्तिगततर्फ हामी स्ट्रोकले अगाडि थियौँ। टिममा २५ स्ट्रोकले अगाडि', थापा भन्छन्, 'सुवासले सधैं खेलमा ध्यान दिएर मिहेनत गर्यो।’
गरिबीमा हुर्किएका सुवासलाई सरकारले दिएको पुरस्कारबाट घर बनाउने इच्छा छ।