१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत मंगलबार भएको बक्सिङमा नेपालकी माला राईले रजत हात पारिन्।
महिला ५१ केजी फाइनलमा माला भारतीय बक्सर पिंकी रानीसँग पराजित हुँदै उनी दोस्रो भइन्। भारतले स्वर्ण जितेपछि त्यहाँ रहेका नेपाली सर्मथकहरू केही शान्त भए।
मालाको अनुहारमा भने निराशा थिएन। उनी जुन मुस्कान लिएर मैदानमा उत्रेकी थिइन्, त्यहीँ चमक रजत हात पारेपछि पनि देखिन्थ्यो। तर जब विजयी देश भारतको राष्ट्रिय गान बज्यो, मालाको आँखा एकाएक रसाए।
उनी आफूलाई सम्हाल्ने कोशिस भने गरिरहेकी थिइन्।
'आफ्नो प्रतिस्पर्धीका अघि कहिल्यै आफूलाई निराश वा चिन्तित देखाउनु हुँदैन,' मालाले भनिन्, 'तर अर्काे देशको राष्ट्रिय गान सुन्दा जति नै कठोर मन बनाए पनि नरमाइलो लाग्दो रहेछ।'
केही महिनाअघि भारतमा भएको 'इन्डियन ओपन बक्सिङ' मा मालाकी प्रतिस्पर्धी विश्व च्याम्पियन खेलाडी मेरी कोम थिइन्।
खेल सुरू हुनुअघि नै उनलाई केही मान्छेले एक राउन्ड पनि टिक्न नसक्ने भन्दै अर्को गेमका लागि तयार हुन भनेका थिए रे।
उक्त खेलमा माला पराजित भइन्। त्यो हारमा पनि उनी यसपालि झैं हाँसिरहेकी थिइन्। मेरी कोमसँग तीन राउन्डसम्म टिक्न सकेको खुसी उनमा थियो।
आफ्ना साथीहरूले मेरी कोमसँग खेल्न पाएकोमा भाग्यमानी भनिरहेको कुरा मालाले मेरी कोमलाई सुनाइन्।
जवाफमा मेरी कोमले उनको खेल्ने सीपको वर्णन गर्दै 'बहादुर' भनेर सम्वोधन गरेको क्षण माला भुल्न सक्दिनन्।
मालाले भनिन्, 'मेरी कोम जितेर पनि त्यति खुसी थिइनन् होला जति म हारेर खुसी देखिएकी थिएँ।'
बारा, अम्लेगञ्जमा हुर्केकी ३६ वर्षीय मालाले बक्सिङ खेल्न थालेको लगभग सोह्र वर्ष भयो। सानैदेखि खेलकुदमा रूचि राख्ने उनी पहिले गाउँमा कराते खेल्थिन्। उनकी आमालाई खेलकुदमा चासो थियो रे। त्यसैले उनैले कराते सिक्न पठाएको माला बताउँछिन्।
एक दाजु र दुई दिदीबहिनीमा जेठी मालालाई घरबाट कतै रोकतोक भएन। भूतपूर्व सेना बुवा हर्कवीर राई र पूर्व हेल्थपोष्ट कर्मचारी आमा देवकी राईले उनलाई हरेक पाइलामा साथ दिए।
पछि आफ्ना साथीहरू बक्सिङमा लागेकाले उनीहरूसँगै माला पनि जोडिइन्। २०६२ सालदेखि सशस्त्र प्रहरीअन्तर्गतमा आधिकारिक रुपमा खेल्न थालेकी हुन्।
स्थायी जागिर, परिवारको समर्थन र राम्रो प्रशिक्षकका कारण मालाको बक्सिङ यात्रा सहज रह्यो। उनका अनुसार घरपरिवारबाट कुनै दबाव नभए पनि आमाबुबाले भने समाजको भनाइ सुन्नुपर्थ्यो।
'खेल्दा चोटपटक लाग्ने हुँदा आमालाई गाँउलेले आफ्नो बच्चाको रगत हेर्न सक्ने कस्तो मन भनेर प्रश्न गर्थे,' माला भन्छिन्, 'त्यो प्रश्नमा मेरी आमाले खेलेपछि चोटपटक लाग्छ। आफ्नो पनि निस्किन्छ र अर्काको पनि निकाल्छ भनेर जवाफ फर्काउनु हुन्थ्यो।'
तर कहिलेकाहीँ समाजका सबै प्रश्न फर्काउन सकिन्थेन। छोरीलाई खेलका लागि घरबाहिर एक्लै पठाउँदा बिग्रिन्छन् भनेर गाँउलेले भड्काउन नखोजेका पनि होइनन्।
परिवारले समाजका ती भनाइ बेवास्ता गर्दै उनको यात्रामा साथ दिएको माला बताउँछिन्।
मालाले घरबाट सानैदेखि स्वतन्त्रता पाइन्। बिहे पनि खेलमा बाधा बनेन। श्रीमान् पनि सशस्त्रअन्तर्गत फुटबल खेलाडी हुन्।
माला भन्छिन्, 'क्याम्प वा खेलमा जाँदा होस्, मेरो अभावमा छोरी र आमालाई श्रीमानले नै हेरचाह गर्नु हुन्छ।'
मालाको यो साहसी रुपले उनकी आठ वर्षीय छोरीलाई पनि उत्तिकै प्रभाव पारेको छ।
उनका अनुसार छोरीले अन्य विद्यार्थीलाई मुक्का हान्छिन् भनेर स्कुलबाट गुनासो आउँथ्यो। बुबा फुटबल र आमा बक्सिङ खेल्ने भएकोले छोरी दुवै खेलका खेलाडी हुने कुरा गर्छिन् रे।
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी