अक्सर खेलाडीले स्वर्ण जितेपछि खुसी व्यक्त गर्छन्। तर नेपालका लागि म्याराथनमा स्वर्ण दिलाएका किरणसिंह बोगटीले आफू स्वर्णबाट खुसी नभएको प्रतिक्रिया दिएका छन्।
जारी दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा शनिबार बोगटीले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गर्दै नेपाललाई स्वर्ण दिलाए।
योसँगै नेपालले ९ वर्षपछि म्याराथनमा स्वर्ण भित्र्याएको छ। यसअघि २०१० मा बंगलादेशमा भएको सागमा नेपाललाई राजेन्द्र भण्डारीले स्वर्ण दिलाएका थिए।
जारी सागमा बोगटीले भारतका रस्पाल सिंहलाई ४० सेकन्डले पछि पारे।
रस्पालले निर्धारित दूरी २ घण्टा २१ मिनेट ५७ सेकेन्डमा पूरा गर्दै रजतमा चित्त बुझाए।
‘जितेपछि एक सेकेण्ड त राम्रै लागेको थियो, अहिले फेरि बिर्सिसकेँ। म जित्दा धेरै खुसी हुन्नँ। किनकी अझै धेरै राम्रो गर्न बाँकी छ,’ जितपछि उनले प्रतिक्रिया दिए।
स्वर्ण जितेपछि उनले घर परिवारलाई फोन गरे।
उनका जेठा छोरा आशिष बोगटी पनि बुवाको खेल हेर्न रंगशाला पुगेका थिए।
‘बुवाले मेडेल चाहिँ ल्याउनुहुन्छ भन्ने लागेको थियो तर गोल्ड नै हुन्छ भन्ने चाहिँ थिएन,’ खुसी व्यक्त गर्दै नौ कक्षामा अध्ययनरत आशिषले भने।
किरणसिंह आफ्नो पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्ण जित्न सफल भएका छन्।
उनी यसअघि आठौं राष्ट्रिय खेलकुदमा म्याराथनमा तेस्रो भएका थिए। आफूले टाइमिङमा सुधार गरेको भन्दै उनले भने,‘आठौं राष्ट्रिय खेलकुदको भन्दा राम्रो टाइमिङ निकालेको छु। पहिले २ घण्टा २२ मिनेटमा दौडिए, यसपालि २ घण्टा २१ मिनेटमा दौडिएको छु।’ कैलाली घर भएका बोगटी बच्चैबाट खेलकुदमा रूची राख्थे। तर आर्थिक समस्याका कारण उनले चाहे अनुसार खेलकुदमा समय दिन पाएनन्।
परिवारको पेशा सामान्य खेती किसानी थियो। त्यसले गर्दा पनि उनले समय पाएनन्। यसरी नै समय बित्दै गयो।
२०६१ सालमा उनी सशस्त्र प्रहरी बलमा भर्ना भए।
२०६६ सालमा उनी पोखरा पुगे। त्यहीँबाट उनको खेल यात्रा सुरू भयो। सुरूमा उनले उसु खेले। त्यसपछि उनको ध्यान बक्सिङतिर मोडियो। केही समय बक्सिङ खेले। फेरि उनको मन दौडले तान्यो। उनी दौडमा भविष्य खोज्न लागे। त्यसपछि उनी बिहान रंगशालामा दौडिन थाले।
सुरूमा ५ किलोमिटर र १० किलोमिटर दौडमा प्रतिस्पर्धा गरे।
त्यहाँ पनि उनी दोस्रो, तेस्रो हुँदै गए।
‘जितेपछि त अलिअलि पैसा पनि आउने रै’छ भनेर त्यसमै लागियो,’ उनले हाँस्दै भने।
शनिबार अन्य देशको प्रतिस्पर्धीसँग मैदानमा उत्रिदा उनमा दबाब थियो। एक त उनी राष्ट्रिय खेलकुदमा तेस्रो भएर पनि सागमा मौका पाएका धावक थिए।
‘त्यहीँ भएर दौडिदा कसरी हुन्छ गोल्ड ल्याउनुपर्छ भन्ने थियो,’ उनले भने।
उद्घाटन समारोहमै नेपालीको ताली देखेर आफ्नो मन लोभिएको बताउँदै उनले कसरी हुन्छ त्यो तालीलाई सदुपयोग गर्न आफूमा सोचाइ आएको बताए।
‘म जित्छु भनेरै अगाडि बढेको हो। सुरूदेखि नै लिड गरेर दौडिए। यदि गोल्ड आएन भने बरु अन्तिममा आउँछु भन्ने सोचेको थिएँ,’ उनले भने।
अब आफ्नो लक्ष्य भनेको २ घण्टा २० मिनेटमा दौडिने रहेको उनले सुनाए। त्यसलाई थप सुधार गर्दै २ घण्टा १८ मिनेट हुँदै अझ टाइमिङ छोट्याउने उनले अठोट लिएका छन्।
‘जुन दिन बैकुण्ठको रेकर्ड ब्रेक हुन्छ, त्यो दिन मात्र म धेरै खुसी हुन्छु,’ उनले संकल्प गरे।