बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तीवाङमा शुक्रबारदेखि दसौ केन्द्रीय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा (आर्चरी) प्रतियोगिता सुरु भएको छ ।
थकाली सेवा समिति नेपालको आयोजना र बुर्तीवाङ क्षेत्रको आतिथ्यतामा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १७ समूहका एक सय जना भन्दा बढी खेलाडीहरु सहभागी छन् ।
थकाली समुदायको पौराणीक तारो हान्ने खेलको संरक्षण, खेल प्रर्यटनको विकास र प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले उद्घाटन गर्नुभयो । समितिले प्रत्येक दुई/दुई वर्षमा तोरन्ल गोल्डकप आयोजना गर्दै आएको छ ।
प्रतियोगिताको बिजेताले नगद पचास हजार रुपैया सहित गोल्डकप, शिल्ड, प्रमाणपत्र र मेडल तथा दोस्रोले तिस हजार रुपैया नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तितृयलाई नगद बिस हजार, मेडल र प्रमणपत्र तथा चौथो, पाँचौ हुने समूहलाई छ हजार र चार हजार रुपैया पुरस्कारको व्यवस्था गरिएको छ ।
सर्वोकृष्ट धनुषकर, बिशिष्ट धनुषकर, अनुसासीत टिम, जेष्ठ र कम उमेरका खेलाडीलाई पनी नगद तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक कृष्ण शेरचनले बताए। प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य तुलाचनले पर्यटन, सदभाव् र अनुशासनका लागि खेलकुदको विकास आवश्यक पर्ने बताए।
सांसद तुलाचनले ढोरपाटन क्षेत्रमा पूर्वाधारको विकास गरि पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सकिने बताए। ढोरपाटन नगरपालीकाका प्रमुख देवकुमार नेपालीले बुर्तीवाङलाई चिनाउन थकाली समुदायको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै प्रतियोगितालाई दुई लाख सहयोग र थकाली समाजघर संरक्षण योजनालाई आगामी वर्ष बजेट उपलब्ध गराउने बताए।
पर्यटन, निर्माण, होटल क्षेत्रमा बिशेष अनुभव सगालेका थकाली समुदायका अगुवाहरुलाई ढोरपाटनको पर्यटन विकासमा सघाउन आग्रह गरे। कार्यक्रमको अध्यक्षता समेत गर्नुभएकी थकाली सेवा समितिका अध्यक्ष कृष्णकुमारी शेरचनले थकालीका पुर्खाले सुरुवागत गरेको तारो खेलको संरक्षण र प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताइन्।
प्रतियोगिताको उद्घाटन हुनुपुर्व थकाली समुदायको जातीय पहिचान झल्कने झाँकी र बाजागाजा सहित बुर्तीवाङ बजार परिक्रमा गरिएको थियो ।