सोलुखुम्बुका अर्जुन राई र सिन्धुपाल्चोककी नितु तामाङले ‘५ औं मुन्दुम ट्रेल रेस’ को उपाधि जितेका छन्।
सरकारको उत्कृष्ट १०० गन्तव्यसूचीमा रहेको मुन्दुम ट्रेललाई विदेशी र स्वदेशी पर्यटकमाझ प्रवर्द्धन गर्न आयोजना गरिएको ट्रेल रेसमा पूर्वका इलाम, पाँचथरदेखि पश्चिम जाजरकोटसम्मका १३ जिल्लाका १६ वर्ष देखि ७५ वर्षसम्मका धावकहरु सहभागी थिए।
५५ किमी लामो दूरी रहेको दौड भोजपुरको बागखोर (२६२२ मि) बाट सुरू भएर चप्लेटी, ओख्लीढुङ्गा, एकराते, मैयुङ, नागीखर्क, जलजले, धोद्रे, चखेवा,३१०० मिटरको टेम्के डाँडा हुँदै खोटाङको तावाभञ्ज्याङ (१८०० मिटर) मा पुगेर टुंगिएको थियो।
महिला, पुरूष र भेटरान्स महिला-पुरूष तर्फ छुट्टाछुट्टै विजेता घोषणा गरिएको थियो।
महिला तर्फ सिन्धुपाल्चोककी नितु तामाङले निर्धारित दूरी ६ घन्टा २२ मिनेट १० सेकेन्डमा पूरा गर्दै उपाधि जितिन्।
दोस्रो भएकी रामप्रसाद गाउँपालिका भोजपुरकी जुलिन राईले निर्धारित दूरी ६ घन्टा २६ मिनेट ५६ सेकेन्डमा पूरा गरिन्।
यस्तै संखुवासभाकी सुनकला राईले निर्धारित दूरी ६ घन्टा ५१ मिनेट २८ सेकेन्डमा पूरा गर्दै तेस्रो भइन्।
रामप्रसाद रुरा नगरपालिका भोजपुरकी सजना राई चौथो र रामप्रसाद गाउँपालिका भोजपुरकै रोश्मा राई पाँचौ भइन्।
यस्तै पुरुषतर्फको उपाधि सोलुखुम्बुका अर्जुन राईले जिते। उनले निर्धारित दूरी ४ घन्टा ३५ मिनेट ५६ सेकेन्डमा पूरा गरे। दोस्रो भएका भोजपुरका उमेश राईले निर्धारित दूरी ४ घन्टा ३८ मिनेट १० सेकेन्डमा पूरा गरे।
तेस्रो भएका गोरखाका अशोक बमले निर्धारित दूरी ४ घन्टा ४८ मिनेट ६ सेकेन्डमा पूरा गरे।
तेह्रथुमका सरोज लिम्बु चौथो र कालिकोटका वीरेन्द्र पाण्डे पाँचौ भए।
यस्तै पुरूष भेट्रान्सको उपाधि खोटाङका दुर्गाधन राईले जित्दा महिलातर्फ जमूना लिम्बुले जितिन्।
पुरूष तर्फको ट्रेल रेस विजेतालाई नगद ३५ हजार रूपैयाँ, दोस्रोलाई २५ हजार रूपैयाँ, तेस्रोलाई १५ हजार, चौथोलाई ५ हजार र पाँचौलाई ५ हजार रूपैयाँ पुरस्कार राशि र प्रमाणपत्र दिएको छ भने महिला बिजेतालाई पनि पुरुष सम्मान पुरस्कार प्रदान गरिएको थियो।
यस वर्षको दौडमा १६ देखि ४० र ४० वर्ष माथिका दुईटा इभेन्ट राखिएको थियो जसलाई ४० वर्षमाथिको पहिलो विजेतालाई १० हजार, दोस्रोलाई ८ हजार तेस्रोलाई र ५ हजार नगद पुरस्कार दिएको थियो।
मुन्दुम ट्रेल पदमार्ग प्रवर्द्धनका लागि भोजपुरमा दौड प्रतियोगिता वर्षेनि आयोजना गर्दै आएको स्पोर्टस एकेडेमीका पविहाङ राईले बताए।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरमा ५५ किलोमिटर दूरीको मुन्धुम ट्रेल दौड गरिएको रिमाचुङ पूर्वी नेपालमा अवस्थित मुन्दुम ट्रेललाई प्रवर्दन गर्ने उद्देश्यले वर्षेनी ट्रेल रेस आयोजना गरिदैँ आएको छ।
केही वर्षअघि कन्सेप्ट नेपालको टेक्निकल सहयोगमा ‘मैयुङ-टेम्के-साल्पा -सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले पूर्वमा पहिचान गरेको मुन्दुम पदमार्ग सुरू गरिएको थियो। पदमार्गको प्रवर्द्धन नेपाल पर्यटन वोर्डले गरेको थियो भने टेम्के मैयुङ गाउँपालिकाको सहयोग रहेको थियो।
पदमार्गको पूर्वाधार विकासमा प्रदेश सरकार र स्वीस सरकारको विकास सहयोग एजेन्सीले गरेका हुन्।
पदमार्गमा किराती जीवनशैली, दूधकुण्ड (नुम्बुर) देखि सगरमाथा, मकालु, कुम्भकर्णहुँदै कञ्चनजंघालगायत हिमालको लामो लर्कन देखिन्छ।
विजेताहरूपुरुष
१ अर्जुन राई (सोलुखुम्बु) - ४:३५:५६
२.उमेश राई (भोजपुर) - ४:३८:१०
३.अशोक ब्रम (गोरखा) - ४:४८:६
४. सरोज लिम्बु (तेह्रथुम) - ४:५१:४०
५.वीरेन्द्र पाण्डे (कालिकोट) - ४:५६:१४
महिला
१. नितु तामाङ (सिन्धुपाल्चोक) - ६:२२:१०
२ जुलिन राई (भोजपुर) -६:२६:५६
३.सुनकला राई (संखुवासभा) -६:५१:२८
४. सजना राई (भोजपुर) - ६:५४:४६
५.रोश्मा राई (भोजपुर) - ७:२०:३४
भेट्रान्स (पुरुष)
१ दुर्गाधन राई (खोटाङ) - ५:५०:३१
२.टेक बहादुर थापा (धनकुटा) -६:२५:२३
३.धन कुमार राई (मोरङ) -६:४०:३६
भेट्रान्स (महिला)
१.जमुना लिम्बु (सुनसरी, धरान) -१०:३:१५