भारतको देहरादुनमा आयोजित छैटौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन कर्णाली प्रदेशका १० जना खेलाडीलाई विदाई गरिएको छ।
मंगलबार कर्णाली प्रदेशको सामाजिक विकास मन्त्री दल रावलले खेलाडीहरूलाई विदाई गरेका हुन्।
भारतसहित बंगलादेश, भुटान, दक्षिण कोरियालगायतका १४ देशको सहभागिता रहने प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै कर्णाली प्रदेशका खेलाडी समूह सहभागी हुन लागेको हो।
कर्णाली प्रदेशबाट सुर्खेतका नन्दा बस्यालको नेतृत्वमा दैलेखका शसिराम विक, आशुतोष विक, सुर्खेतका सुशिल ओली, दिलिप वली, चन्द्र धौलाकोटी, सल्यानका वसन्त शाह, प्रवल शाह, रोशन खड्की रुकुमका रविन भण्डारी प्रतियोगितामा खेल्ने भएका छन्।
प्रतियोगिताबाट नेपालाई गोल्ड मेडल प्राप्त गराउने उद्देश्यसहित आफूहरू मेहेनतका साथ प्रतिस्पर्धामा उत्रने टिम लिडर वस्यालले बताइन्। उनका अनुसार मंसिर १३ र १४ गतेको खेलमा नेपाल सहभागी हुनेछ। नेपालले पुम्से र गेरोगी विधामा खेल्ने वस्यालले जानकारी दिइन् ।
नेपालका तर्फबाट प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई विदाई गर्ने क्रममा सामाजिक विकास मन्त्री रावलले देशको प्रतिनिधित्व गरेको कर्णाली प्रदेशले प्रदेशसँगै देशको शिर उच्च राख्नेगरी मेहेनतका साथ सहभागी हुन आग्रह गरे।
खेलाडीहरूलाई विदाई गरिसकेपछि सामूहिक तस्बिर खिचाउँदै मन्त्री रावल। तस्बिर : दिपकजंग शाही/सेतोपाटी