सन् १८९६ मा ग्रिसको एथेन्समा आयोजित पहिलो आधुनिक ओलम्पिक्समा ९ वटा खेलमा प्रतिस्पर्धा भएको थियो।
एथ्लेटिक्स, साइक्लिङ, फेन्सिङ, जिम्न्यास्टिक, सुटिङ, टेनिस, भारोत्तोलन र कुस्तीमा १४ देशका खेलाडीले ४३ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए।
पहिलो ओलम्पिक्समा प्रतिस्पर्धा भएका खेलको लोकप्रियता विश्वमा अहिलेसम्म पनि उस्तै छ। नेपालमा पनि पहिलो ओलम्पिक्समा सहभागी खेलका पाखरी धेरै छन्। तर, फेन्सिङ खेलको बारेमा कमैलाई जानकारी छ।
पहिलो ओलम्पिक्समा सहभागी अन्य खेल संघको इतिहास लामै भए पनि नेपालमा फेन्सिङ भित्रिएको १० वर्षमात्र भएको छ। संघका महासचिव सुजनलाल श्रेष्ठको पहलमा सन् २००९ मा नेपालमा फेन्सिङ भित्रिएको थियो।
‘नेपालमा फेन्सिङ २००९ को डिसेम्बरदेखि सुरु भएको हो। २०१० देखि हामीले खेल्न थाल्यौं,’ फेन्सिङका मुख्य प्रशिक्षक अभिषेक कार्की भन्छन्, ‘कराते, तेक्वान्दो जस्तै यो पनि कम्ब्याट स्पोर्ट्स हो। तर यो खेल नन-बडी कन्ट्याक्ट (विपक्षीलाई आफ्नो शरीरले नछोइ) खेलिन्छ। स्वोर्डले (तरबार) विपक्षीलाई छोएर अंक लिइन्छ।’
१८ औं शताब्दीमा राजा-महाराजा तरबार जुधाएर एकआपसमा भिड्थे। पछि बिस्तारै खेलको रूपमा विकास हुन थाल्यो। प्रतिस्पर्धामा सांकेतिक तरबारको प्रयोग गर्न थालियो।
कतिपयले फेन्सिङलाई चेससँग पनि तुलना गर्छन्।
‘निमेषमै निर्णय लिएर अंक लिनु पर्ने भएकाले यसलाई माइन्ड गेम पनि भनिन्छ,’ प्रशिक्षक कार्की भन्छन्।
अन्य खेलको तुलनामा फेन्सिङका लागि निश्चित खेल सामग्री र स्थान चाहिने भएकाले विकास हुन नसकेको उनको बुझाइ छ। ‘प्लाटफर्म, इलोक्ट्रोनिङ मेसिन, छुट्टै ड्रेस, तरबार र विशेष खालको माक्स चाहिन्छ। राम्रो खालको एक सेट ड्रेसको नै १ लाख रुपैयाँमाथि पर्छ,’ कार्की भन्छन्, ‘अरूभन्दा महँगो खेल भएकाले विकास हुन सकिरहेको छैन। त्यसैले फेन्सिङ विकासमा सरकारले नै विशेष ध्यान दिनुपर्छ।’
फेन्सिङको आफ्नै हल नहुँदा खेलाडी उत्पादन गर्न कठिन परिरहेको कार्कीको भनाई छ। यस्तै राष्ट्रिय खेलकुद परिषदमा फेन्सिङका प्रशिक्षक नै छैनन्।
विराटनगरमा भएको सातौं र प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुदमा फेन्सिङलाई सहभागी गराइएपछि आममानिसमा सकारात्मक प्रभाव परेको कार्कीको भनाइ छ। यस्तै गत वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा पनि नेपालले फेन्सिङमा प्रतिस्पर्धा गरेको थियो।
छोटो इतिहास भए पनि फेन्सिङले आगामी मंसिरमा नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने लक्ष्य लिएको छ। सागमा फेन्सिङमा प्रतिस्पर्धा गर्न लागेको यो पहिलो पटक हो।
‘एसियाली खेलकुदको भन्दा राम्रो तयारी गर्न पाएका छौं। संघको मद्दतबाट प्रशिक्षणका हल उपबल्ध भएको छ,’ महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्रमा प्रशिक्षण गराइरहेका कार्की भन्छन्, ‘विदेशी प्रशिक्षण ल्याए वा विदेशमै गएर तयारी गर्न सक्यौं भने हामी सागमा फाइनल पुग्न सक्छौं।’
प्रशिणक्षमा हाल ३६ जना खेलाडी सहभागी छन्। अगस्टको अन्तिममा छनोट गरेर साग सहभागी हुने अन्तिम २४ जना (१२ पुरुष, १२ महिला ) छनोट गरिनेछ। सागमा महिला र पुरुष गरी १२ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। फोयल, सोवर र इपि विधामा महिला र पुरुषमा व्यक्तिगत र टिम विधामा भिडन्त हुनेछ।
सागमा भुटान र माल्दिभ्सबाहेक पाँच देशले मात्र फेन्सिङमा भाग लिनेछन्। जसमा भारतबाहेक अन्य देशको स्तरमा खासै फरक छैन। केहि समयअघि बैंककमा भएको प्रतिस्पर्धा नेपाली खेलाडीले बंगालदेश र श्रीलंकाका खेलाडीलाई हराएका थिए। पाकिस्तानमा त वर्ष मात्र फेन्सिङको सुरुवात भएको थियो।
सागको बन्द प्रशिक्षणमा रहेका अमित भण्डारी सागमा पदक जित्नका लागि मिहिनेत गरिरहेको बताउँछन्। विगत ९ वर्षदेखि फेन्सिङ खेलिरहेका उनी सागमा पदकका लागि खेल्ने बताउँछन्।
तर खेलाडीका लागि चाहिने खेल स्तरीय सामग्री नहुँदा समस्या परिरहेको उनको गुनासो छ।
नेपाली खेलाडीहरूले अहिले चाइनिज तरबारबाट प्रशिक्षक गरिरहेका छन्। ‘हामी ३ हजार पर्ने चाइनिज तरबार प्रयोग गरिरहेका छौं,’ भण्डारी भन्छन्, ‘हामीलाई चाहिने एफआइ ब्रान्डको तरबार हो। जसको मूल्य १० हजार भन्दा माथि पर्छ।’
यस्तै खेलाडीका लागि स्तरीय ‘ड्रेस’ पनि उपलब्ध हुन सकेको छैन। लेवल-३ को ‘ड्रेस’ नहुँदा प्रतिस्पर्धाका दौरान शरीरमा विपक्षीको प्रहार लागेर सुम्ला उठ्ने गरेको भण्डारीको अनुभव छ।
स्तरीय खेल सामग्रीमा तयारी गर्न नपाउँदा प्रदर्शनमा असर गर्ने राष्ट्रिय फेन्सर कमला श्रेष्ठले बताउँछिन्। ‘चाइनिज स्वार्डमा तयारी गर्ने अनि प्रतिस्पर्धा चै एफआइ ब्रान्डमा गर्दा फरक पर्छ,’ कमला भन्छिन्, ‘एफआइ ब्रान्डको अलि छरितो र सजिलो हुन्छ। जसमा हामीलाई कम अनुभव हुन्छ।’
इन्डोनेसियामा भएको एसियाली खेलकुलदमा पनि सहभागिता जनाएकी उनी सागका लागि विदेशी प्रशिक्षक ल्याउनु पर्ने बताउँछिन्। ‘अन्य देशमा एक खेलाडीका लागि एक प्रशिक्षक हुन्छन्। तर हामीलाई प्रशिक्षककै कमी छ,’ त्रिभुवन आर्मी क्लबमा रहेर विगत ५ वर्षदेखि फेन्सिङ खेलिरहेकी उनी भन्छिन्।