जापानमा जारी ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक खेलकुदको पदक तालिकामा एसियाली मुलुक चीनले अग्रता कायमै राखेको छ।
टोकियोमा जारि ओलम्पिकको १४ औं दिनको खेल सकिँदासम्म कुल २९३ स्वर्ण पदकको छिनोफानो भएको छ। जसमा रसियन ओलम्पिक टिमसहित कुल ६३ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।
पदक तालिकामा चीनले आफ्नो अग्रता कायमै राखेको छ। उसले शुक्रबारसम्म ३६ स्वर्ण, २६ रजत र १७ कास्यसहित कुल ७९ पदकसहित शीर्ष स्थानमा कायमै छ।
चीनले शुक्रबार थप २ स्वर्ण, २ रजत र १ कास्य जितेको हो।
यस्तै पदक तालिकामा सबैभन्दा अगाडि रहेको अमेरिकाले स्वर्णमा चीनलाई पछ्याइरहेको छ। हालसम्म ३१ स्वर्ण, ३६ रजत र ३१ कास्यसहित कुल ९८ पदकसहित दोस्रो स्थानमा कायमै छ।
शुक्रबार २३ स्वर्णका लागि भएको खेलमा अमेरिकाले थप २ स्वर्ण, १ रजत र ४ कास्य पदक थपेको हो।
यस्तै शुक्रबार थप दुई स्वर्ण जितेको घरेलु टोली जापान तेस्रो स्थानमा कायमै छ। हालसम्म जापानले २४ स्वर्ण, ११ रजत र १६ कास्यसहित कुल ५१ पदक जितेको छ।
यस्तै बिहिबार छैठौं स्थानमा रहेको बेलायतले शुक्रबार थप २ स्वर्ण जित्दै चौथो स्थानमा उक्लिएको छ। बेलायतले हालसम्म १८ स्वर्ण, २० रजत र २० कास्यसहित कुल ५८ पदक जितेको छ।
यस्तै १७ स्वर्ण, २३ रजत र २२ कास्यसहित कुल ६२ पदकसहित पाँचौं स्थानमा उक्लिएको छ।
बिहिबार चौथो स्थानमा रहेको अष्ट्रेलियाले आज १ रजत र २ कास्य थपे पनि स्वर्ण जित्न नसक्दा छैठौं स्थानमा झरेको छ। उसले हालसम्म १७ स्वर्ण, ६ रजत र २१ कास्यसहित कुल ४४ पदक जितेको छ।
यस्तै शुक्रबार थप ३ स्वर्ण जितेको इटाली सातौं स्थानमा उक्लिएको छ। उसले हालसम्म १० स्वर्ण, १० रजत र १८ कास्यसहित ३८ पदक जितेको छ।
यस्तै शुक्रबार २ रजत थपेको जर्मनी ९ स्वर्ण, ११ रजत र १६ कास्यसहित कुल ३६ पदकसहित आठौं स्थानमा यथावत छ। यस्तै नेदरल्याण्डले पनि ९ स्वर्ण, १० रजत र ११ कास्य जितेर नवौं स्थानमा छ।
फ्रान्स र न्युजिल्याण्डले समान ७-७ स्वर्ण हात पारेका छन् ।
दक्षिण कोरिया, क्यानडा र क्यूवाले समान ६-६ स्वर्ण जितेका छन्।
हंगेरीले ५ स्वर्ण जित्दा ब्राजिल, पोल्याण्ड, चेक र जमैका समान ४-४ स्वर्ण जित्न सफल भएका छन्।
स्पेन, स्विट्जरल्यान्ड, क्रोएसिया, बेल्जियम र स्लोभेनियाले समान ३/३ स्वर्ण पदक हात परेका छन् ।
२ स्वर्ण जित्ने राष्ट्रमा स्विडेन, केन्या, सर्भिया, युगान्डा, बहमास, जर्जिया, इरान, इक्वेटर, उज्वेकिस्तान, नर्वे, डेनमार्क, चाईनिज ताइपे, इक्वेडर, कोसोभो, कतार र ग्रीस छन्।
त्यस्तै हङकङ, थाइल्याण्डसहित २३ राष्ट्रले १/१ स्वर्ण पटक जितेका छन्।
दक्षिण एसियाली मुलुक भारतले शुक्रबार कुनै पदक जित्न सकेन। कुल २ रजत र ३ कास्यसहित ५ पदक भारतले जितेको छ। हालसम्म कुल ८९ राष्ट्रले पदक जितेका छन्।