ओलम्पिकमा चार स्वर्ण पदक जित्ने बेलायतका पहिलो ट्र्याक एण्ड फिल्ड धावक मोहमद फराहले आफूलाई अर्को बच्चाको नाममा अवैध रूपमा बेलायत पुर्याइएको खुलासा गरेका छन्।
फराहले लन्डन ओलम्पिक २०१२ र रियो ओलम्पिक २०१६ मा पाँच तथा दश हजार मिटर दौडमा स्वर्ण जितेका थिए।
बीबीसीको डकुमेन्ट्री फिल्म 'द रियल मो फराह' मार्फत् ३९ वर्षीया फराहले भने, 'सत्य यो हो कि म त्यो होइन जो तपाई मलाई सोच्नुहुन्छ।'
सोमालियाको उत्तरमा रहेको सोमालिल्याण्डमा जन्मिएका उनको वास्तविक नाम हुसेन अब्दी कहिन हो।
उनी चार वर्ष हुँदा उनको बुबा गृहयुद्धमा मारिएका थिए।
उनी नौ वर्षको हुँदा आमाबाट अलग गर्दै मोहम्मद फराहको नाममा अवैध रूपमा बेलायत पुर्याएको थियो।
उनले सुरुमा आफू आफन्तसँग बस्न युरोप जाँदैछु भन्ने सोचेको थिए। आफूले नचिनेकी एक महिलासँग बेलायतमा यात्रा गरेको उनले सम्झना गरेका छन्।
त्यसपछि उनलाई पश्चिम लन्डनमा रहेको एउटा घरमा कामदारको रुपमा राखिएको थियो। फराहले आफूलाई उक्त घरका मानिसले परिवारको हिस्सा नमान्ने भएकाले त्यो घरको सम्झना राम्रो नभएको बताए।
यसअघि उनले आफू सोमालियाबाट आफ्ना आमाबुवासँग शरणार्थीको रूपमा बेलायत आएको बताउने गरेका थिए। तर डकुमेन्ट्रीमा उनले आफ्ना आमाबुवा कहिल्यै बेलायत नआएको खुलासा गरेका छन्।
बेलायत पुगेपछि ती महिलाले उनको आफन्तको सम्पर्क विवरण रहेको कागजको टुक्रा खोसेर च्यातेको फराहले बताए। त्यसपछि उनले आफू समस्यामा परेको थाहा पाएका थिए।
सुरुका केही वर्षसम्म उनी बसेको घरका मान्छेले विद्यालय जान अनुमति दिएनन्। १२ वर्षको उमेरमा उनी फेल्थम सामुदायिक कलेजमा भर्ना भएका थिए। कर्मचारीहरूलाई उनी सोमालियाका शरणार्थी भएको बताइएको थियो।
पीई शिक्षक एलन वाटकिन्सनले एथलेटिक्स ट्र्याकमा उनको प्रतिभा देखेपछि उनलाई खेल्न प्रोत्साहित गरेका थिए।
१४ वर्षको उमेरमा उनले दौडमा भाग लिन थालेका थिए। त्यहीँ बेला लाट्भियाको एउटा दौडमा प्रतिस्पर्धा गर्न उनलाई आमन्त्रित गरिएको थियो। तर उनीसँग कुनै कागजातहरू थिएनन्।
वाटकिन्सनले उनलाई मोहम्मद फराहको नाममा बेलायती नागरिकताको लागि आवेदन दिन मद्दत गरे। जसका कारण फराहले सन् २००० जुनमा बेलायती नागरिकता पाएका थिए।
यदि नागरिकता लिँदा कुनै अवैध कागजातमार्फत नागरिता लिएको भएमा कानुनी रूपमा सरकारले कुनै व्यक्तिको ब्रिटिश नागरिकता रद्द गर्न सक्छ।
तर बेलाएको गृह कार्यालयका एक अधिकारीले बीबीसी न्यूजलाई फराहको राष्ट्रियतालाई लिएर कारबाही नगर्ने बताएका छन्।