भारतकी मीराबाई चानुले कमनवेल्थ गेम्समा भारोत्तोलनमा स्वर्ण जितेकी छिन्। इंग्ल्यान्डमा भइरहेको कमनवेल्थ गेम्सअन्तर्गत भारोत्तोलनको ४९ केजी तौल समूहमा चानुले स्वर्ण पदक जितेकी हुन्।
उनले कुल २०१ केजी तौल उचालिन्। उनले स्न्याचमा ८८ केजी तौल उचालिन भने क्लिन एण्ड जर्कमा ११३ केजी उठाउँदै कीर्तिमान बनाइन्।
उनले पहिलो प्रयासमा ८४ केजी तौल उठाएकी थिइन्। दोस्रो प्रयासमा उनले ८८ केजी तौल उचालेर व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरिन्।
जारी प्रतियोगितामा विश्वका ७२ देशको सहभागिता रहेको छ।
मीराबाई टोकियो ओलम्पिकको रजत पदक विजेता हुन्।
यसअघि शनिबार भारतले पदकको खाता खोलेको थियो। पुरुष ५५ केजी तौल समूहमा भारोत्तोलनका खेलाडी संकेत महादेवले रजत पदक जितेका थिए।
स्वर्ण पदक जितेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले चानुलाई ट्विट गर्दै बधाई दिएका छन्।
चानुले २०१७ को विश्व भारोत्तोलन च्याम्पियनसिपमा आफ्नो तौलको झण्डै चार गुणा अर्थात् १९४ केजी उचालेर स्वर्ण जितेकी थिइन्।
मीराबाई २२ वर्षमा स्वर्ण पहिलो भारतीय महिला बनेकी थिइन।
४८ किलो तौल कायम राख्न उनले त्यस दिन खाना पनि खाएकी थिइनन्। तयारीका लागि चानुले अघिल्लो वर्ष आफ्नी बहिनीको विवाहमा पनि भाग लिएकी थिइनन्।
११ वर्षमा उनी अन्डर-१५ च्याम्पियन भएकी थिइन् १७ वर्षमा जुनियर च्याम्पियन। चानुले सन् २०१६ मा १९२ किलोग्राम तौल उचालेर १२ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी थिइन्।
२०१६ को रियो ओलम्पिकमा निकै खराब प्रदर्शनदेखि टोकियो ओलम्पिकमा पदक जित्नेसम्म चानुको यात्रा गजबको थियो।
जब उनी पछिल्लो पटक रियो ओलम्पिकमा गएकी थिइन्, उनको कथा अर्कै थियो। ओलम्पिक जस्तो खेलमा अरु खेलाडीभन्दा पछाडि पर्नु एउटा कुरा हो तर आफ्नो खेल पूरा गर्न नसके त्यो कुनै पनि खेलाडीको मनोबल तोड्ने घटना हुन सक्छ।
सन् २०१६ मा चानुका लागि पनि त्यस्तै भएको थियो। जुन तौल मीराले दैनिक अभ्यासमा सजिलै उठाउने गर्दथिन्, त्यो दिन ओलम्पिकमा उनको हात हिउँजस्तै जमेको थियो। त्यतिबेला भारतमा रात परेको थियो, त्यसैले यो दृश्य धेरै कम भारतीयहरूले देखेका थिए।
बिहान खबर पढेपछि भारतीय फ्यानहरूको नजरमा चानु रातारात खलनायक बनिन्। यो यति हदसम्म पुग्यो कि २०१६ पछि उनी डिप्रेसनमा पुगिन् र हरेक हप्ता काउन्सिलिङ सेसन लिनुपर्ने भयो।
यो असफलतापछि एक पटक चानुले खेललाई छाड्ने मन बनाइन्। तर उनले हार मानिनन् र अन्तर्राष्ट्रिय प्रतियोगितामा बलियो पुनरागमन गरिन्।
चानुले २०१८ मा अस्ट्रेलियामा भएको कमनवेल्थ गेम्समा ४८ केजी स्वर्ण पदक जितेकी थिइन् र अहिले उनी ओलम्पिक पदक विजेता हुन्।
८ अगस्ट १९९४ मा जन्मिएर मणिपुरको एउटा सानो गाउँमा हुर्किएकी चानु बाल्यकालदेखि नै निकै प्रतिभाशाली थिइन्। विशेष सुविधा नभएको उनको गाउँ इम्फालबाट करिब २०० किलोमिटर टाढा थियो।
त्यसबेला मणिपुरकी महिला भारोत्तोलक कुञ्जुरानी देवी स्टार थिइन् र एथेन्स ओलम्पिक खेल्न गएकी थिइन्।
सानी चानु र छ जना भाइबहिनीमध्ये कान्छी चानुको मनमा त्यही दृश्य बस्यो, भारोत्तोलन खेलाडी बन्नेबारे सोचिन्।
मीराको जिद्दीको अगाडि आमाबुवाले पनि हार मान्नु परेको थियो। सन् २००७ मा अभ्यास गर्न थालेपछि सुरुमा फलामको बार नभएकाले बाँसले अभ्यास गर्थिन्।
गाउँमा तालिम केन्द्र नहुँदा उनी तालिम लिन ५०–६० किलोमिटर टाढा जान्थिन्। दैनिक आहारमा दूध र कुखुराको मासु चाहिन्छ तर साधारण परिवारकी चानुका लागि त्यो सम्भव थिएन।