कलिलै उमेरमा नेपाली टेबलटेनिसमा तहल्का मच्चाउन सफल राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठ अनन्त: अस्ट्रेलिया पलायन हुने भएका छन्।
२१ वर्षीय स्यान्टु अध्ययनका लागि अस्ट्रेलिया जान लागेका हुन्।
३ पटकका च्याम्पियन स्यान्टुले २०७६ मंसिरमा नेपालमा आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) मा १ रजत र ३ कास्य पदक गरी कीर्तिमानी ४ पदक जितेका थिए।
स्यान्टुले सिंगल्समा कास्य, पुरुष टिम एभेन्टमा रजत, मेन्स डबल्स र मिक्स डबल्समा कास्य जितेर इतिहास बनाएका थिए।
सागमा पुरुष सिंगल्सतर्फ भारतीय खेलाडीसँग सेमिफाइनलमा पराजित भएका स्यान्टुले टेबलटेनिसको साग इतिहासमा सिंगल्समा पहिलो पटक पदक जितेर इतिहास बनाएका थिए।
टेबलटेनिसमा नेपालले पुरुष टिम इभेन्टमा जितेको रजत पदक पनि ऐतिहासिक बनेको थियो। शिव सुन्दर गोथे, स्यान्टु श्रेष्ठ र पुरुषोत्तम श्रेष्ठ सम्मिलित नेपाली टिम पहिलो पटक टिम इभेन्टको फाइनलमा पुगेको थियो ।
तर, फाइनलमा भारतसँग पराजित भएपछि घरमै भएको सागमा स्वर्ण जित्नबाट नेपाली टोली चुकेको थियो।
साग सुरु हुनुअघि दुर्घटनामा घाइते भएका स्यान्टु केहि साता अस्पताल बसेपछि प्रशिक्षणमा फर्किएका थिए। उनका लागि भनेर छुट्टै छनोट समेत गरिएको थियो।
त्यसअघि उनले इन्डोनेसियामा भएको एसियाली खेलकुदमा पनि भाग लिएका थिए। उनले टेबलटेनिसको एसियन च्याम्पियनसिप र विश्व च्याम्पियनसिपमा समेत भाग लिएका थिए।
पछिल्लो समय टेबलटेनिसमा आफ्नो भविष्य नदेखेपछि स्यान्टु निरास थिए। जसका कारण उनले अस्ट्रेलिया जाने निर्णय गरेका हुन्।
यता अस्ट्रेलिया जान लागेका स्यान्टुलाई मंगलबार अखिल नेपाल टेबलटेनिस संघले उज्वल भविष्यको शुभकामनासहित विदाइ गरेको छ ।
संघको लैनचौरस्थित टेबल टेनिस कभर्डहलमा संघका अध्यक्ष चतुरानन्द राजवैद्यले श्रेष्ठलाई राष्ट्रिय झण्डा प्रदान गरेर विदाइ गरेका थिए।
यस्तै श्रेष्ठलाई संघका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं जिल्ला टेबल टेनिस संघका अध्यक्ष धर्ममान बज्राचार्य, प्रमुख प्रशिक्षक संजीव कुमार ढुङ्गेल, प्रशिक्षकहरु, खेलाडीहरु लगायतले उज्वल भविष्यको लागि शुभकामना दिएका थिए।