स्पेनका राफेल नाडाल र स्विट्जरल्यान्डका रोजर फेडेररबीच एक दशकभन्दा बढी विश्व टेनिसमा कडा प्रतिस्पर्धा भयो।
विश्वका शीर्ष टेनिस प्रतियोगितामा दुबैले उपाधिका लागि एक-अर्काविरूद्ध खेले। एक-अर्काविरूद्ध खेलेका ती खेलले दुबैलाई विश्वकै उत्कृष्ट खेलाडीको रूपमा चिनायो।
दुबै खेलाडीको लोकप्रियता र उनीहरूको उच्चस्तरीय खेलले समग्र टेनिसकै लोकप्रियता भूमिका खेल्यो।
सन् १९९८ देखि व्यावसायिक टेनिस खेल्न थालेका ४१ वर्षीय फेडेररले सन् २००३ मा पहिलो पटक ग्रान्डस्लाम टेनिसको उपाधि जितेका थिए। पछिल्लो पटक २०१८ मा ग्रान्डस्लाम टेनिसको उपाधिका रूपमा फेडेररले अस्ट्रेलियन ओपन जितेका थिए।
फेडेररले २४ वर्षे करिअरमा २० वटा ग्रान्डस्लामसहित १०३ वटा मुख्य उपाधि जिते।
नाडालले २००१ देखि व्यवसायिक टेनिस खेल्न थालेका थिए। ३६ वर्षीय नाडालले पहिलो ग्रान्डस्लाम २००५ मा जितेका थिए। पछिल्लो पटक २००२२ को अस्ट्रेलियन र फ्रेञ्च ओपन जितेका नाडालले सर्वाधिक २२ ग्रान्डस्लामको उपाधिसहित ९२ वटा मुख्य उपाधि जिते।
एकै समयका यी दुई टेनिस खेलाडी ४० पटक एक-अर्काविरूद्ध खेले। यी दुई कोर्टमा भिड्दा विश्वभरका टेनिसप्रेमी आकर्षित हुन्थे। ४० भिडन्तमध्ये फेडेरर १६ खेल र नाडाल २४ खेलमा विजयी भएका थिए। जसमध्ये ग्रान्डस्लामको भिडन्तमा नाडाल १० खेल र फेडेरर ४ खेलमा विजयी भएका थिए। यस्तै ४० भिडन्तमध्ये २४ भिडन्त उपाधिका लागि थिए। जसमा नाडाल १४ खेलमा विजयी भएका थिए।
एकअर्काका चिर प्रतिद्वन्द्वी फेडेरर-नाडाल सँगै बसेको शुक्रबारको एक तस्बिरले संसारका खेलप्रेमीलाई भावुक बनायो।
अघिल्लो महिना संन्यासको घोषणा गरेका फेडेररको विदाइ खेलमा नाडाल निकै भावुक देखिएका थिए।
विदाइअघि लन्डनमा नाडाल र फेडेरर लेभर कपको खेलमा सँगै खेलेका थिए। टिम युरोपबाट सँगै डबल्सको खेलेका नाडाल-फेडेररलाई टिम वर्ल्डका ज्याक र फ्रान्सिस टियाफोको जोडीसँग पराजित भए।
यससँगै फेडेररको व्यावसायिक करिअरको अन्त्य भयो। विदाई कार्यक्रममा फेडेरर भावुक हुँदै आँखाबाट आँशु निकाले। सँगै बसेका नाडालको हातमाथि फेडेररको हात थियो। अनि नाडालले पनि आफूलाई सम्हान्न सकेनन्। नाडाल पनि रून थाले।
यो दृष्यलाई विश्वभरबाट खेल भावनाको सबैभन्दा उत्कृष्ट तस्बिरको संज्ञा दिइएको छ।
भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीले पनि सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिद्वन्द्वीहरूले एकअर्काप्रति यस्तो महसुस गर्न सक्छन् भन्ने कसले सोचेको थियो? यो खेलकुदको सुन्दरता हो। यो मेरो लागि सबैभन्दा सुन्दर खेलकुद तस्बिरर हो। जब तपाईंका साथीहरू तपाईंको लागि रूनेछन्, तपाईंलाई थाहा हुनेछ, भगवानले दिएको प्रतिभा सँगै तपाईं किन गर्न सक्षम हुनुभयो।’