माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पिनयसिपको उपाधि श्रीलंकाले जितेको छ। च्याम्पियनसिपको राउन्ड रोविन अन्तर्गत अन्तिम खेलमा बुधबार माल्दिभ्सलाई ७२-५९ ले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो।
माल्दिभ्सविरुद्धको पहिलो खेलमा हार बेहोरेको नेपालले पछिल्ला दुई खेल जित्दै उपाधि जित्ने सम्भावनालाई जीवित राखेको थियो। तर श्रीलंकाले माल्दिभ्सलाई हराउँदा नेपाल फेरि पनि उपविजेतामा सिमित भएको छ।
सन् २०१६ मा नेपालमा भएको साबाको पहिलो संस्करणमा पनि श्रीलंका विजेता बन्दा नेपाल दोस्रो भएको थियो।
प्रतियोगिताको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग ५१-४७ ले पराजित भएको थियो। उक्त हारले नेपाललाई उपाधिबाट बन्चित गरायो ।
माल्दिभ्ससँग पराजित भए पनि नेपालले मंगलबार श्रीलंकालाई ५५-४९ ले हराएको थियो। त्यस्तै भुटानमाथि ६५-२६ को जित निकालेको थियो।
प्रतियोगितामा चार राष्ट्र सहभागी छन्। अब माल्दिभ्स र भुटानबीचको खेल हुन बाँकी रहेको छ। उक्त खेलले तेस्रो र चौथो स्थानको टुंगो लाग्नेछ।