सरकारले घोषणा गरेको नवौं राष्ट्रिय प्रतियोगिता आउन अब डेढ महिना मात्र बाँकी छ। कोरोनाको बहानामा रोकिएको प्रतियोगिता आयोजना हुनु आफैंमा राम्रो पक्ष हो। तर हतारमा प्रतियोगिता आयोजना गरिनुले प्रतियोगिता आयोजनामा मात्र सिमिति हुने हो कि भन्नेमा कतिपयको शंका छ।
मिति तोकिए पनि जिल्ला, प्रदेशहुँदै खेलाडी छनोटमा अझै रौनक आउन सकेको छैन। यस्तो अवस्थामा प्रतियोगिता आयोजना हुँदा राष्ट्रिय खेलकुदको लक्ष्य प्राप्त गर्न कठिन हुनेमा कतिपयको आशंका छ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ अदालतको फैसलापछि कार्यभारमा फर्किएसँगै खेलकुद गतिविधि चलायमान हुने निश्चित भएको छ। नवौं राष्ट्रिय खेलकुदको मिति युवा तथा खेलकुद मन्त्रीसँगको समन्वयमा मन्त्रिपरिषदबाट सार्वजनिक भइसक्दा खेलकुदको माहोल बन्ने देखिएको हो। मिति तोकिएपछि सदस्य सचिव टंकलाल घिसिङ खेलकुदमा होमिन आह्वान नै गरेका छन् ।
प्रतियोगिता जेठ २२ देखि २८ सम्म हुँदैछ। राष्ट्रिय गौरवको प्रतियोगिता आयोजना गर्दा जिल्ला, प्रदेश हुँदै खेलाडी छनोट हुने प्रावधान छ। तर हतारका आयोजना गरिन लागिएको प्रतियोगिातमा खेलाडीको छनोट प्रक्रिया कस्तो हुने अझै नै अन्योल छ।
आयोजना हुने मिति घोषणा भए पनि समय सिमा भने निकै छोटो भएको खेल सरोकारवाको टिप्पणी छ। यद्यपि पटक पटक धकेलिएको प्रतियोगिता हुने सुखद पक्ष भएको हो। आर्थिक लगानीका हिसावले समेत महत्वकांक्षी रहेको राष्ट्रिय प्रतियोगिता हतारमा गरिँदा बास्तविक खेलाडी ओझेलमा पर्नसक्ने चिन्ता समेत खेल सरोकारवालाहरुको छ ।
गौरवकै रूपमा हेरिने राष्ट्रिय प्रतियोगिता आयोजना गर्न भौतिक पूर्वाधार देखि मौसम पनि निकै महत्वपूर्ण हुन्छ। जेठ अन्तिम सातालाई तोकिएको समय वर्षायामको सुरूआत हुँदा हुनेछ। जुन आयोजनाका लागि आयोजकलाई अर्को चुनौति छ।
कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको राष्ट्रिय प्रतियोगिता सहभागि हुने खेलाडको व्यग्र प्रतीक्षा समाप्त भएको छ। तर प्रस्तावित मिति राष्ट्रिय खेलकुदका लागि कति उपयुक्त थियो भनेर खेलकुद मन्त्रालय र राखेप वस्तुगत समीक्षामा भने चुकेका छन्।
जेठको अन्तिम सातादेखि नेपालमा मनसुन सुरु हुन्छ । पोखरा नेपालमै सबैभन्दा धेरै वर्षा हुने स्थान भएको कारणले पनि प्रतियोगितामा प्रत्यक्ष असर पर्न सक्नेछ। राष्ट्रिय खेलकुद गण्डकीमा भने पनि अधिकांश खेल पोखरा र आसपासमा नै हुने छन्।
मौसमका अलावा घोषित मितिमा फुटबल र क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हुँदैछन्। क्रिकेट टिमले ओमान र अमेरिकासँग अमेरिकामा त्रिकोणात्मक श्रृंखला खेल्दैछ भने फुटबल टिमले एएफसी एसियन कप छनोट तेस्रो चरणमा कुवेत, जोर्डन र इण्डोनेसियासँग कुवेतमा खल्दैछ।