नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि सरेको छ। आगामी जेठ २२ देखि २८ गतेसम्म हुने तय प्रतियोगिता स्थगित गरिएको युवा तथा खेलकुद मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।
प्रतियोगिता अब असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुने मन्त्रालयले जनाएको छ। प्रतियोगिता सार्दै नयाँ मितिमा गर्नका लागि मन्त्रिपरिषद्ले निर्णय गरिसकेको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले जानकारी दिए।
मन्त्री गहतराजले प्रतियोगिता सार्वजनिक खरिद ऐनअनुरूप जेठमा गर्न समस्या भएकाले सार्नु परेको बताए। ३५ दिनको सूचना निकालेर समान खरिद गर्न समय अपुग भएकाले प्रतियोगिता सारिएको हो।
यसअघि मन्त्रिपरिषद्को बैठकबाट प्रतियोगिता जेठ अन्तिम साता गर्ने निर्णय भएको थियो।
गण्डकी प्रदेशमा हुने प्रतियोगितामा ३६ खेलमा प्रतिस्पर्धा हुने निर्णय समेत भएको थियो।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम र गैरआवासीय नेपाली टिम गरी ११ टिमका खेलाडीले प्रतिस्पर्धा गराउन तयारी गरिएको थियो। प्रतियोगिताका लागि लोगो र मस्कट समेत सार्वजनिक भइसकेको छ।