ग्रामीण भू–भागका मानिसहरु अझै पनि धामी, झाँक्रीदेखि लिएर मसान, भूतप्रेत लगायतमा विश्वासमा राख्छन्। मसान, भूतप्रेतको आतंकले गाउँ नै रित्तिएको अवस्था पनि छ। नाटककर्मी प्रदिप कुमार चौधरीको निर्देशनमा यस्तै कथामा आधारित नाटक ‘मसानटार’ आइतबारबाट मण्डला थिएटरमा प्रदर्शन हुँदैछ।
मसानटार एउटा काल्पनिक गाउँ हो जहाँका मानिसहरू सेवा सुविधाबाट बञ्चित छन्। ती मानिसहरू कुनै पनि घटना हुनुलाई मसानलाई नै दोष दिन्छन्। ‘मसानमा कुनै पनि मानिस बस्न चाहँदैन्। नेपालका मानिसहरु पनि सहर वा विदेशतिर पलायन हुने क्रम बढ्दो छ।’, नाटकसँग जोड्दै प्रदिपले सेतोपाटिसँग भने, ‘सेवा सुविधाले बञ्चित भएका गाउँलेहरु नाटकमा पनि सहर पुगेर गाउँ फर्कदैनन्। यो कुरालाई मानिसहरुले मसानको डरले नफर्केको अर्थ लगाउँछन्।’
मसानकाे आतंकले गाउँ नै रित्तिन लागेको स्थितमा रुपक नामक एक युवक गाउँ फर्कन्छ। प्रदिपका अनुसार रुपक आधुनिक युवक हो जो मसान, भूतप्रेत जस्ता कुराहरुमा विश्वास गर्दैन्। गाउँमा फैलिएको मसानको त्रासलाई तोड्न अहंम भुमिकामा देखिएकाे छ। यसैले, मसानटार अन्धविश्वास र आधुनिक सोच बीचको लडाई पनि भएको कुरा प्रदिपले अर्थ लगाए। देशमा व्यापत भ्रष्ट्राचार, राजनितिक अस्थिरता, बेरोजगार, परनिर्भता लगायतका बिम्बहरु बोकेको नाटकले धामीझाँक्री प्रतिको अन्धविश्वास हटाउन खोजेको छ।
धामीलाई अदृश्य शक्तिको रुपमा नाटकमा प्रस्तुत गरिएको छ। गाउँका मानिसहरु मसान भगाउँनलाई तान्त्रिक एवम् अदृश्य शक्तिमा निर्भर भए झैँ हाम्रो देश पनि बाह्य देशको शक्तिमा रोम्लिइरहदाँ देश नै मसानटार भएको प्रदिपले दाबी गरे।
नाटकलाई निर्देशक प्रदिप कुमार चौधरी स्वयमले लेखेका हुन्। नाटकमा सुदिप खतिवडा, पुष्कर शाही, सागर दाहाल, मिलन कार्की, आयन खड्का, कुन्दन चौधरी, रोहित पौडेल, पत्रिका घिमिरे र कविता धौभडेलले अभिनय गरेका छन्।
नाटक ‘मसानटार’ पुस ३ गतेसम्म प्रदर्शन हुनेछ।